त्रिकोणात्मक सिरिजमा नेपाल र जिम्बाबे भिड्दै

सिंगापुरमा आजबाट सुरु हुन लागेको त्रिकोणात्मक टि–२० सिरिजको उद्घाटन खेलमा नेपालले टेस्ट मान्यता प्राप्त राष्ट्र जिम्बाबेको सामना गर्दै छ । सिंगापुरस्थित इन्डियन एसोसिएशन क्रिकेट मैदानमा हुने खेल साँझ ५ः१५ बजे सुरु हुने छ ।

नेपाल, जिम्बाबे र सिंगापुर सम्मिलित त्रिकोणात्मक सिरिज टि–२० विश्वकपको ग्लोबल छनोटका तयारी स्वरुप सिंगापुर क्रिकेटले आयोजना गरेको हो । विश्वकपको एसिया छनोटको विजेताका रुपमा सिंगापुरले ग्लोबल छनोट खेल्न लागेको हो ।

नेपाल र जिम्बाबे भने ग्लोबल छनोटमा छैनन् । नेपाल कतार र सिंगापुरसँग पराजित हुँदै एसिया छनोटबाटै बाहिरिएको थियो । आईसिसीले निलम्बन गरेकाले जिम्बाबेले ग्लोबल गुमाएको हो । आईसिसी वरियताका शीर्ष १२भित्र रहेको जिम्मबाबेले सिधै ग्लोबल छनोटमा थियो । तर, जिम्बाबे क्रिकेटमा राजनीतिक हस्तक्षेप भएको भन्दै आईसिसीले आफूले आयोजना गर्नै कुनै पनि प्रतियोगिता खेल्न नपाउने गरी उसलाई प्रतिबन्ध लगाए पछि जिम्बाबे ग्लोबल छनोटबाट बाहिरिएको हो ।

एकदिवसीय क्रिकेटमा एक आपसमा भिडिसकेका नेपाल र जिम्बाबे टि–२०मा भने पहिलो पटक भिड्न लागेका हुन् । त्यसैले दुवै टि–२० क्रिकेटमा नौला प्रतिस्पर्धीका रुपमा रहेका छन् । समग्रमा भने यी दुई टिम डेढ वर्षपछि भिड्न लागेका हुन् । सन् २०१८ को मार्च ४ एकदिवसीय विश्वकप छनोटमा नेपाल र जिम्बाबे भिडेका थिए । सो खेलमा नेपाल ११६ रनले पराजित भएको थियो ।

त्यतिबेला नेपालविरुद्ध खेलेका जिम्बाबेका अधिकांश खेलका अहिले टिममा छैनन् । नेपाली टोलीमा पनि अनुभावी खेलाडीहरु ज्ञानेन्द्र मल्ल, शरद भेषावकर र वसन्त रेग्मी छैनन् । उनीहरुको स्थानमा युवा खेलाडीलाई मौका दिइएको छ ।

बंगालदेश र अफगानिस्तानविरद्धको त्रिकोणात्मक सिरिज खेलेर जिम्बाबे सिंगापुर पुगेको हो । त्यहाँ उसले ३ हार र १ जित निकालेको थियो । नेपाल भने विश्वकप एसिया छनोटपछि पहिलो पटक मैदान उत्रँदै छ । त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टिम बुधबार बेलुकी सिंगापुर पुगेको थियो । नेपाली टिमले बिहीबार सिंगापुरमा सामान्य अभ्यास गरेको थियो ।

डबल राउन्ड रोबिनका आधारमा त्रिकोणात्मक सिरिजको दोस्रो खेल नेपालले ११ गते सिंगापुरसँग खेल्ने छ । यस्तै, असोज १४ नेपालले पुनः जिम्बाबेको समान गर्दा १५ गते सिंगापुरसँग भिड्ने छन् । लिगका शीर्ष २ टिम उपाधिका लागि भिड्ने छन् । फाइनल ४ अक्टोबर बिहीबार हुने छ ।

क्रिकोणात्मक सिरिज लगत्तै नेपाली टिम उतैबाट ओमान जाने छ । ओमानमा नेपालले आयरल्यान्ड, नेदरल्यान्ड्स, ओमान र हङकङ सम्मिलित टि–२० सिरिज खेल्ने छ । सिरिज ओमान क्रिकेटले टि–२० विश्वकपको ग्लोबल छनोटको तयारीका लागि आयोजना गरेको हो । सिरिज ५ अक्टोबरबाट १० अक्टोबरसम्म चल्ने छ ।

सिंगापुर र ओमान भ्रमणका लागि आईसीसीका प्रतिनिधि अमिनुल इस्लाम, प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्का सम्मिलित छनोट समितिले अघिल्लो साता १५ सदस्यी नेपाली टिम घोषणा गरेको थियो ।

नेपाली टिमको कप्तानमा पारस खड्का रहेका छन् भने उपकप्तानको जिम्मेवारी युवा अलराउन्डर दीपेन्द्रसिंह ऐरीले पाएका छन् । नियमित उपकप्तान ज्ञानेन्द्र मल्लले पारिवारिक कारणले सिंगापुर भ्रमण गर्न नसक्ने बताएपछि उपकप्तानको जिम्मेवारी दीपेन्द्रले पाएका हुन् ।

सिंगापुर र ओमान भ्रमणमा अनुभवी ब्याट्सम्यान शरद भेषावकर र भेट्रान स्पिनर बसन्त रेग्मी भने हुने छैनन् । शदर र बसन्तको स्थानमा इशान पाण्डे र यू–१९ टिमका अलराउन्डर कुशल मल्ल टिममा परेका छन् ।

सिंगापुर र ओमन भ्रमणमा जाने १५ सस्दयीय टिममा पारस खड्का (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सोमपाल कामी, करण केसी, विनोद भण्डारी, ललितनारायण राजवंशी, पवन सर्राफ, सन्दीप लामिछाने, अभिनास बोहोरा, कुशल मल्ल, आरिफ शेख, सुशन भारी, ईशान पाण्डे, सन्दीप जोरा र रोहितकुमार पौडेल रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP