त्रिकोणात्मक सिरिज नेपालले पपुवा न्युगिनीसँग अभ्यास खेल खेल्ने

एकदिवसीय विश्वकप छनोटका रुपमा रहेको आईसिसी विश्वकप लिग–२अन्तर्गतको दोस्रो सिरिजको तयारीमा रहेको नेपालले पपुवा न्युगिनीसँग अभ्यास खेल खेल्ने भएको छ। आगामी सेप्टेम्बरमा ओमान हुने ओमान र अमेरिकासँगको त्रिकोणात्मक सिरिजअघि नेपालले पपुवा न्युगिनीसँग अभ्यास खेल खेल्न तयारी गरेको हो।

नेपाल क्रिकेट संघ (क्यान)का सचिव अशोकनाथ प्याकुरेलका अनुसार नेपालले पपुवा न्युगिनीसँग त्रिकोणात्मक सिरिजअघि ओमानमै दुई अभ्यास खेल्ने लगभग पक्का भएको छ। उनले नेपालसँग खेल्न पपुवा न्युगिनी तयार भएको र आईसिसीबाट अनुमति पाउन मात्र बाँकी छ। आईसिसीले अनुमति दिने वित्तिकै मिति तय गरिने उनले बताए।

नेपाल, ओमान र अमेरिकाबीचको सिरिज सेप्टेम्बरमा ओनमान हुने तय भएपछि मिति भने फिक्स भइसकेको छैन। दोस्रो त्रिकोणात्मक सिरिजका लागि नेपाली टिमले आजैबाट बन्द प्रशिक्षण सुरु गरेको छ।

आजबाट सुरु भएको बन्द प्रशिक्षणमा १९ खेडाली सहभागी छन्। बन्द प्रशिक्षणका लागि बुधबार मात्र क्यानले २० सदस्यीय नेपाली टिमको घोषणा गरेको थियो। पूर्वकप्तान पारस खड्काले मंगलबार मात्र सन्न्यासको घोषणा गरेकाले उनीबाहेक १९ सदस्यीय टिम बन्द प्रशिक्षणमा सहभागी भएका हुन्।

बन्द प्रशिक्षणमा ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल आसिफ सेख, गुल्सन झा, आरिफ सेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने कमलसिंह ऐरी, अविनाश बोहरा, साहब आलम, सुशन भारी, शरद भेषवाकर, विक्रम सोब, पवन सर्राफ र रोहितकुमार पौडल सहभागी छन्।

Facebook Comments Box