
लुम्बिनीले भित्र्यायो दक्षिण अफ्रिकी र आयरिस क्रिकेटर, कोच पनि विदेशी
आसन्न नेपाल टि–२० लिगका लागि लुम्बिनी अल स्टार्सले विदेशी खेलाडीमा रुपमा दक्षिण अफ्रिकी र आइरिस क्रिकेटर अनुबन्धन गरेको छ। स्टार्सले आइतबार सामाजिक सञ्जालमार्फत दक्षिण अफ्रिकाका क्लाउड भान शाल्विक र आयरल्यान्डका ह्यारी टेक्टरलाई अनुबन्ध गरेको जनाएको छ।
दक्षिण अफ्रिकी टिमबाट नखेलेका शाल्विक अनुभवी फास्ट बलिङ अलराउन्डर हुन् भने भर्खरै टि–२० विश्वकप क्रिकेट खेलेका टेक्टर ब्याट्सम्यान हुन्।
३४ वर्षीय शाल्विकले ९६ फस्ट क्लास, १११ लिस्ट ए र ९४ टि–२० म्याच खेलेका छन्। जसमा उसले २५९३, ९४६ र ३४६ रन बनाउनुका साथै क्रमशः २३९, १४४ र ९० विकट लिएका छन् ।
यस्तै, २३ वर्षीय युवा खेलाडी टेक्टरले आयरल्यान्डबाट २३ एकदिवसीय र ५१ टि–२० आई खेलेका छन्। जसमा उनले एकदिवसीयमा २ शतक र ७ अर्धशतकसहित ८९५ रन बनाएका छन् भने टि–२०मा ३ अर्धशतक मद्दतमा ८३६ रन बनाएका छन्।
प्रतियोगिताका लागि लुम्बिनी अल स्टार्सले विदेशी प्रशिक्षक नियुक्त गरेको छ। उसले इंग्ल्यान्डका पूर्व राष्ट्रिय खेलाडी पिटर ट्रेगालाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो । यस्तै, उसले पूर्व राष्ट्रिय खेलाडी मनोज कटुवाललाई प्रशिक्षक बनाएको छ।
दीपेन्द्रसिंह ऐरी मार्की खेलाडी रहेको लुम्बिनीमा कुशल भुर्तेल, सागर ढकाल, अनिल शाह, गुल्सन झा, किशोर महतोलगायत नेपाली खेलाडी छन्। पुस ८ देखि २६ गतेसम्म चल्ने प्रतियोगितामा लुम्बिनीले पहिलो खेल पुस ८ गते फार वेस्टर्न युनाईटेडसँग खेल्ने छ।