
विदेशी खेलाडी चम्किँदा फार वेस्टको जित
नेपाल टि–२० लिगमा फार वेस्ट युनाइटेड विजयी भएको छ । सोमबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा विदेशी खेलाडीले उत्कृष्ट प्रदर्शन गरेपछि फार वेस्ट युनाइटेडले काठमाडौं नाइट्समाथि ४ विकेटको जित निकाल्यो।
पहिलो खेलमा फार वेस्ट लुम्बिनी अल स्टारसँग ६७ रनले पराजित भएको थियो। यता काठमाडौंको भने यो पहिलो हार हो। उसले पहिलो खेलमा पोखरा एभेन्जर्समाथि २६ रनको जित निकालेको थियो।
कप्तान हश्मतुलल्हा शहिदी ब्याटिङ र बलिङमा उमर अली चम्किएपछि प्रतियोगितामा फार वेस्टको पहिलो जित सम्भव भयो ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा काठमाडौंले दिएको ९९ रनको सामान्य लक्ष्य फार वेष्टले १९.१ ओभरमा ६ विकेट गुमाउँदै भेट्टायो। उसका लागि कप्तान शाहिदीले ४९ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै नआउट ५० रन बनाए। यस्तै, देव खनालले १७ र भीम सार्कीले ११ रन बनाए।
उत्कृष्ट बलिङ गरेका काठमाडौंका अनिल खरेलले ४ ओभरमा १० रन मात्र खर्चेर २ विकेट लिए । यस्तै, रायन ब्रुल, अज्मतुल्लाह ओमरजाइ, बासिर अहमद र अविनाश बोहराले समान १ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले खराब ब्याटिङ ग¥योे । उसले २० ओभर खेल्दै ९ विकेटको क्षतिमा ९८ रनमात्र बनाउन सक्यो।
काठमाडौंका लागि एलेक्स ब्लेकले सर्वाधिक ४५ रन बनाए । उनले ३७ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरे । यस्तै, कप्तान ज्ञानेन्द्र मल्लले १३ र सन्तोष कार्कीले १२ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।
काठमाडौैंलाई सस्तैमा रोक्ने क्रममा उमाइर अलीले किफायति बलिङ गरे । उनले ४ ओभरमा १५ रन मात्र खर्चेर ३ विकेट लिए। यस्तै, शाहिदी र भुवन कार्कीले समान २ विकेट लिए। शहिदीले ४ ओभरमा समान १५ र कार्कीले २ ओभरमा ११ रन खर्चिए।