
सुरु भयो नेपाल टि–२० लिग
नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो पटक आयोजना गरेको फ्रेन्चाइज क्रिकृट प्रतियोगिता नेपाल टि–२० लिग सुरु भएको छ। विभिन्न कारणले पटक पटक स्थागित भएको नेपाल टि–२० लिग आजबाट कीर्तिपुरस्थित टियू मैदानमा सुरु भएको छ।
शुक्रबारबाट नै सुरु भनिएको प्रतियोगिता विदेशी खेलाडीको श्रमस्वीकृति आउन ढिला भएपनि १ दिन पछि सरेको थियो।
प्रतियोगिताको उद्घाटन खेलमा अहिले काठमाडौं नाइट्स र पोखरा एभेन्जर्स भिडिरहेका छन्। ताजा अवस्था पहिला ब्याटिङ गरेको काठमाडौंले ९ ओभरमा ४८ रन बनाउँदा ५ विकेट गुमाएको छ।
काठमाडौंको कप्तानी नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले गरिरहेका छन् भने पोखराको कप्तानमा शरद भेषावकर छन्।
यस्तै, आजै हुने दोस्रो खेलमा दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको लुम्बिनी अल स्टार र विनोद भण्डारीको कताप्नीमा रहेको फार वेस्ट युनाइटेड भिड्ने छन्।
६ टिम सहभागी प्रतियोगिताको विजेता ५५ लाख रुपैयाँ पाउने छ भने उपविजेताले ३० लाख रुपैयाँ पाउने छ। सेभेन थ्री स्पोर्टस कमर्सियल तथा स्ट्राटेजिक साझेदार रहेको प्रतियोगिताको तेस्रो हुनेले २० र चौथो हुने टिमले ५ लाख रुपैयाँ पाउनेछ।
यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ लाख रुपैयाँ र विधागन उत्कृष्ट खेलाडीले २ लाख रुपैयाँ पाउनेछन्।