नेपाल टि–२० लिग : खेलाडीको तबल ५ देखि १५ लाखसम्म

Read Time:4 Minute

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल टि–२० लिग आयोजना गर्ने भएको छ। आधिकारिक लिग प्रतियोगिता असोजमा हुने बुधबार घोषणा गरिएको हो । विगतमा निजी क्षेत्रबाट लिग हुँदै आए पनि अहिले नेपाली क्रिकेटको सर्वोच्च निकायले नै टि–२० लिग गर्ने निर्णय गरेको हो ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले असोज ८ देखि कात्तिक ५ सम्म प्रतियोगिता गरिने जानकारी गराए । प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् । सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

‘‘नेपाल क्रिकेट निलम्बनमा भएका बेला विगतमा आईसीसीले विभिन्न लिग आयोजना गर्न दिएको र अहिले क्यान आएपछि देशमा अब एउटामात्र क्रिकेट लिग हुनेछ । आईसीसीले पनि एउटा देशमा एकमात्र लिग आयोजना गर्न दिन्छ,’ अध्यक्ष चन्दले नेपाल टी–२० लिग घोषणा गर्दै भने ।

प्रतियोगिताका लागि सन् २०२० को जनवरी ९ मा भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँग सम्झौता पत्रमा हस्ताक्षर गरेको थियो । उनका अनुसार सेभेन थ्री स्पोर्टस नेपाल ट्वान्टी–२० लिगको कमर्सियल एन्ड स्ट्रेजेटिक साझेदार हुनेछ । त्यसवापत सेभेन थ्रीले ८ वर्षको ३३ करोड रुपैयाँ शुल्क तिर्नेछ । त्यसअनुसार वार्षिक ४ करोड १२ लाख ५० हजार क्यानले पाउने छ ।

अक्सन र त्यसको मोडालिटीबारे हाल तय नभए पनि खेलाडीले नेपाल टी–२० लिग खेलेर पाउने पारिश्रमिक तय भइसकेको छ। जससअनुसार प्रतियोगिता खेल्ने नेपाली खेलाडीलाई समूह ‘ए’, ‘बी’ र ‘सी’ समूहमा वर्गीकरण गरिने छ ।

समूह ‘ए’ का खेलाडीले न्युनतम १५ लाख, समूह ‘बी’ का खेलाडीले न्युनतम १० र समूह ‘सी’ का खेलाडीले न्युनतम ५ लाख रुपैयाँ पाउने छन्।

धनगढीमा सम्पन्न अघिल्लो साधारणसभामा नेपाल टी–२० लिग खेलेर न्युनतम ५ लाख पाउने घोषणा आफूले गरेको र त्यहीअनुरुप सेभेन थ्री स्पोर्टससँग खेलाडीको पारिश्रमिकका लागि वर्गीकरण गरिएको अध्यक्ष चन्दले बताए ।

‘नेपाली खेलाडीको भविष्य निर्धारण गर्ने र दर्जनौं खेलाडीलाई आर्थिक हैसियत उकास्न नेपाल टी–२० लिग गर्न लागेका हौं, दुई वर्षको प्रयासपछि आज हामी यो प्रतियोगिताको घोषणा गर्न गइरहेका छौं,’ चन्दले भने, ‘नेपाल टी–२० लिगले नेपालमा क्रिकेट विकासमात्र होइन क्यान पनि आर्थिक रूपमा बलियो हुनेछ । यो नेपाली खेलाडीको टेक्ने आधार बन्ने छ । व्यावसायिक र पर्यटकीय हिसाबमा पनि फड्को मार्ने विश्वास क्यानको छ ।’

नेपालको पहिलो आधिकारिक ट्वान्टी–२० लिगलाई लिएर आफूहरू उत्साहित रहेको जनाउँदै राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेले भने, ‘नेपाल टी–२० लिगले खेलाडीको व्यावसायिक स्किल बढाउन मदत गर्नुका साथै खेलाडीलाई चाहिएको अनुभव दिलाउने छ । नेपाली क्रिकेटका लागि यो कोसेढुंगा पनि हो ।’

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post टि–२० सिरिजको दोस्रो खेलमा पनि नेपाल युगान्डासँग १ विकेटले पराजित
Next post ४२ वर्षपछि फ्रान्कफर्टले जित्यो युरोपा लिग
Close