नेपाली यू–१९ टिमले भारत र अफागानिस्तानसँग एकदिवसीय सिरिज खेल्ने
नेपाली यू–१९ क्रिकेट टिमले भारतमा एकदिवसीय सिरिज खेल्ने भएको छ । आगामी भदौ अन्तिम साता नेपालले भारत र आफगानिस्तानको यू–१९ टिमसँग एकदिवसीय सिरिज खेल्न भएको हो ।
भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले यू–१९ सिरिजका लागि नेपाल र अफगानिस्तानलाई भारत बोलाएको छ । आगामी भदौ २७ देखि असोज ४ गतेसम्म हुने प्रतियोतिामा भारतकै यू–१९ र नेशनल क्रिकेट एकेडेमी (एनसिए) को टोली पनि सहभागी हुने जनाइएको छ ।
प्रतियोगितामा सहभागिता जनाउन बिसिसिआईले पत्र पठाएको राष्ट्रिय क्रिकेट टोली व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिएका छन् । ‘निमन्त्रणा आएको छ, हामी छफफल गर्दैछौं, यसबारे अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)सँग पनि स्वीकृत लिनुपर्ने हुन्छ‘, उनले भने।
यू–१९ को केही खेलाडी राष्ट्रिय टोलीमा पनि रहेको र भर्खर नेदरल्याण्ड्सबाट फर्किएकाले यसबारे एक दुई दिनमा निर्णय गरिने शिवाकोटीले बताए ।
बिसिसिआईले भने यू–१९ एकदिवसीय सिरिजको खेल तालिकासमेत सार्वजनिक गरिसकेको छ । सिरिजको पहिलो खेल भदौ २७ गते हुने छ । इडेन गार्डेन्न कोलकातामा हुने उक्त खेलमा भारत र अफगानिस्तान भिड्ने छन् । सोही दिन जादभपुर युनिभर्सिटीमा नेपाले एनसिएको सामना गर्ने छ ।
त्यसैगरी भदौ २९ गते इडेन गार्डेन्नमा नेपाल र भारत भिड्ने छन् भने सोही दिन जादभपुर युनिभर्सिटीमा अफगानिस्तान र एनसिए पनि आपसमा भिड्ने छन् । भदौ ३१ गते इडेन गार्डेन्नमा भारत र एनसिए र जादभपुर युनिभर्सिटीमा नेपाल र अफगानिस्तान प्रतिस्पर्धा गर्नेछन् ।
यसैगरी असोज २ गते इडेन गार्डेन्नमा शीर्ष स्थानका दुई टोलीबीच फाइनल खेल हुने छ । यस्तै सोही दिन जादभपुर युनिभर्सिटीमा तेस्रो र चौथो स्थानका लागि प्लेअफ खेल पनि जनाइएको छ ।