बलिङमा रोहित चम्किँदा क्यानडामाथि नेपालको ७ रनको जित

8 Feb, 2024

कप्तान रोहितकुमार पौडेलले उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि क्यानडाविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपाल विजयी भएको छ। बिहीबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा रोहितले ४ विकेट लिएपछि नेपालले क्यानडालाई ७ रनले हरायो।

नेपालले दिएको २२५ रनको मध्यम लक्ष्य पछ्याएको क्यानडा ४७.५ ओभरमा २१७ रनमै आलआउट भयो। ३७.५ ओभरमा १७३–३को सहज अवस्थामा रहेको क्यानडाले त्यसपछिका ७ विकेट ४४ रन बनाउँदा गुमाएको थियो।

क्यानडाका लागि निकोलस क्रिटोन सर्वाधिक ६८ रन बनाए। उनले ९९ बलमा ७ चौका प्रहार गरे। यस्तै, पारगत सिंहले ५८ बलमा ९ चौका प्रहार गर्दै ५० रन बनाए। हर्ष थाकरले ३२ र आरोन जोन्सनले २० रन बनाए।

थ्रीलर म्याचमा नेपाललाई जित दिलाउने क्रममा रोहितले ८.५ ओभरमा २ मेडनसहित २२ रन मात्र खर्चेर ४ विकेट लिए। यस्तै, ललित राजवंशीले २ तथा सोमपाल कामी, रिजन ढकाल, पवन सर्राफ र कुशल मल्ले समान १ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको नेपाल कुशल भुर्तेलको अर्धशतक मद्दतमा इनिङको अन्तिम बलमा अलआउट हुँदै २२४ रन बनायो। कुशलले ५८ बलमा ९ चौका र १ छक्का मद्दतमा ६२ रन बनाए। यस्तै, आरिफ सेखले ३८, सोमपाल कामीले २७, कुशल मल्लले २० र भीम सार्कीले १७ रनको योगदान दिए।

बलिङमा क्यानडाका उदय भगवानले ३ तथा इश्वरजोत सोहीले २ विकेट लिए।

३ खेलका सिरिजको दोस्रो खेल शनिबार कीर्तिपुरस्थित टियू मैदानमै हुनेछ।