एसिया कपअन्तर्गत भारतविरुद्ध जारी खेलमा नेपालले २ सय रन कटाएको छ।
श्रीलंकास्थित पेल्लेकल रंगशालामा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले बलियो भारतविरुद्ध उत्कृष्ट ब्याटिङ गर्दै ४३.३ ओभरमा ७ विकेट गुमाउँदै २ सय रन कटाएको हो।
नेपालका लागि ओपनर आसिफ सेखले अर्धशतकीय योगदान दिए। मोहम्मद सिराजको बलमा विराट कोहलीबाट क्याच आउट हुनुअघि उनले ९७ बलमा ८ चौका प्रहार गर्दै ५८ रन बनाए। उनी एसिया कप क्रिकेटमा अर्धशतक बनाउने पहिलो नेपाली ब्याट्सम्यान बनेका छन्।
यस्तै, कुशल भुर्तेलले ३८ रन बनाए। उनले २५ बलमा ३ चोका र २ छक्का प्रहार गरे। आसिफ र कुशल पहिलो विकेटका लागि ६५ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुआत दिलाएका थिए।
यस्तै, हार्दिक पाण्ड्याको बलमा एलबिडब्लु आउट भएका दीपेन्द्रले २५ बलमा ३ चौका प्हार गर्दै २९ रन बनाए। दीपेन्द्रले सातौं विकेटका लागि सोमपाल कामीसँग ५० रनको महत्वपूर्ण साझेदारी गरे।
यी दुईका अलावा गुल्सन झाले ३५बलम ३ चौका प्रहार गर्दै ३५ रन बनाए भने भीम सार्कीले ७, रोहित पौडेलले ५ र कुशल मल्लले २ रन बनाए।
भारतका रविन्द्र जडेजाले ३ तथा शार्दुल ठाकुर, हार्दिक पाण्ड्या र मोहम्मद सिराजले समान १ विकेट लिए।
अहिले क्रिजमा सोमपाल कामी २८ र सन्दीप लामिछाने ४ रन बनाएर खेलिरहेका छन्। ताजा अवस्थामा नोपलले ४४ ओभरको समाप्तिमा ७ विकेटको क्षतिमा २०२ रन बनाएको तछ।