नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो भारतको सिनियर टिमसँग खेल्दै छ। एसिया कपमा पहिलो पटक खेलिरहेको नेपालले समूहको अन्तिम खेलमा आज भारतसँग खेल्दैछ।
नेपाल र भारतबीचको खेल श्रीलंकाको पाल्लेकेले इन्टरनेशनल रगशालामा दिउँसो ३ः१५मा सुरु हुनेछ।
एसिय कप २०२३ अन्तर्गत क्यान्डीमा दुई रोहित आमने–सामने हुँदा नेपाली टिमका कप्तानलाई गुमाउन केही छैन । नेपालका लागि नतिजा भारतविरुद्ध चुनौती प्रस्तुत गर्दाको अनुभवमात्र हो । र, अर्को सिकाइ र ठूलो मञ्चमा आफूलाई प्रमाणित गर्ने अवसर पनि ।
नेपाल, भारत र पाकिस्तान रहेको समूहबाट पाकिस्तान सुपर फोरमा पुगिसकेको छ। नेपाल र भारतबीचको यो खेलबाट सुपर फोर पुग्ने दोस्रो टिमको टुंगो लाग्नेछ। भारतलाइ हराउन सके नेपाल पनि सुपर फाेरमा पुग्न सक्छ। तर, त्याे असम्भव जस्तै हुनेछ।
नेपाल उद्घाटन खेलमा पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो भने भारत र पाकिस्तानबीचको खेल वर्षाका कारणबीचमै रोकिएको थियो।
केही गरी भोलिको खेल वर्षाले रद्द भए भारत सुपर फोरमा पुग्नेछ। भोलिको मौसमको पूर्वानुमानअनुसार पल्लेकेले मैदानमा खेल सुरु हुने समयमा वर्षा हुने सम्भावना न्यून छ। तर साँझ पछि भने पानी पर्ने सम्भावना देखिएको छ।
छिमेकी भारतले क्रिकेटमा प्रभाव जमाउन थालेको चार दशक भए पनि एसोसिएट टिम नेपाललाई भारतीय सिनियर टिमसँग खेल्ने कहिल्यै मौका जुर्न सकेन। अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षसम्म पनि नेपाली क्रिकेट टिमका लागि छिमेकी भारत बिरानो जस्तै भयो।
नेपालले भारतका यू–१९ टिम र ‘ए’ टिमसँग भने विभिन्न प्रतियोगितामा प्रतिस्पर्धा गरेको छ। पछिल्लोपटक नेपालले भारतको ‘ए’ टिमसँग प्रतिस्पर्धा गरेको दुई महिना पनि पूरा भएको छैन।
पाकिस्तानविरूद्धको खेलमा नेपालले सुरुवातमा राम्रो बलिङ देखाएको थियो। तर अन्तिम ओभरतिर पाकिस्तानी ब्याटसम्यान नेपाली बलरमाथि हाबी भएका थिए। ब्याटिङमा पनि नेपाली ब्याटरले पाकिस्तानी बलरसामू खुलेर खेल्न सकेनन्।
भारतविरुद्ध पनि नेपालले सुरुवातदेखि नै अनुसाशित बलिङ गर्न पर्ने देखिन्छ। यस्तै ब्याटिङमा नेपालले भारतीय बलरविरुद्ध अपनाउनु पर्ने रणनीतिमा ध्यान दिनु पर्नेछ। विशेषगरी नेपाली ब्याटरका लागि तीव्र गतिका बलरको सामना गर्नु चुनौतीपूर्ण हुनेछ।