क्रिकेटराष्ट्रिय क्रिकेट

मलेसियामाथि नेपालको जित, टि–२० सिरिजमा २–१को अग्रता

नेपाली महिला क्रिकेट टिमले घरेलु टोली मलेसियामाथि सहज जित निकलोको छ। बिहीबार बान्गीस्थित यूएडी–यूकेएम क्रिकेट ओभलमा भएको टि–२० सिरिजको खेलमा नेपालले मलेसियालाई २७ रनले हरायो।

यो जितसँगै ५ खेलको सिरिजमा नेपाली महिला टिमले २–१को अग्रता बनाएको छ। सिरिजको पहिलो खेलेमा मलेसिया ५ विकेटले विजयी भएको थियो भने दोस्रो खेल नेपालले ७ विकेटले जितेको थियो।

पहिला ब्याटिङ गर्दै नेपालले दिएको १११ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ४ विकेटको क्षतिमा ८३ रन मात्र बनाउन सक्यो।

मलेसियाका लागि माहिरा इज्जती इस्मेलले अविजित ४४ रन बनाइन् । ५४ बल खेलेकी उनले मा ६ चौका प्रहार गरिन्। यस्तै, ओपनर विनीफ्रेड दुराइसिंगम २० रन बनाइन्।

मलेसियालाई रोक्न कविता कुँवर, सीता रानामगर र इन्दू बर्माले १–१ विकेट लिए । इन्दुले ३ ओभरमा ७ र कविताले ४ ओभरमा १० रन मात्र खर्चिए।

त्यसअघि टस हारेर ब्याटिङ गरेको नेपालका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक २७ रन बनाइन्। रुविनाले १५ बलमा ३ चौका र १ छक्का प्रहार गरिन् ।

यस्तै, ज्योती पाण्डेले २४ बलमा ३ चौकासहित २३ रन बनाइन् भने ओपनर सीता रानामगर ३५ बलमा २१ रन बनाइन। इन्दु बर्माले २० रनको योगदान दिइन्। मलेसियाका लागि निक नुर अटिलाले सर्वाधिक २ विकेट लिइन्।

नेपाल र मलेसियाबीचको शनिबार चौथो र आइतबार अन्तिम खेल खेल्नेछ ।