क्रिकेटराष्ट्रिय क्रिकेट

नेपाल र पाकिस्तानबीचको खेल हेर्न २ बजेपछि जनकपुरका सबै विद्यालय बन्द

जनकपुरधाम उपमहानगरपालिकाले नेपाल र पाकिस्तानबीचको खेल खेल्न आज दिउँसो २ बजेपछि नगरभित्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

नेपाल र पाकिस्तानबीचको एसिया कपको उद्घाटन खेल मुल्तानमा दिउँसो ३ः१५मा सुरु हुनेछ।

उपमहानगरले सूचना निकालेरै बुधबार दिउँसो २ बजेपछि उपमहानगरभित्रका विद्यालय बन्द गर्न भनेको हो।

उपमहानगरपालिकाले नेपालले एसिया कप खेल्नु तथा भारत र पाकिस्तानजस्ता शक्तिशाली देशहरुसँग प्रतिस्पर्धा गर्न पाउनु नेपालीहरुका लागि गौरवको विषय भएको भन्दै खेल हेर्दै नेपाली टिमको हौसला बढाउन विद्यालय बन्द गरिएको जनाएको छ।

उसले यो विद्यार्थीहरुमा खेलप्रतिको उर्जावान भावना जागृत गराउने विश्वास लिएको छ।

घरेलु टिम पाकिस्तानसँग मुल्तानमा प्रतिस्पर्धा गरेसँगै नेपालले विभिन्न रेकर्ड बनाउनेछ। नेपालले पहिलोपटक एकदिवसीय वरीयताको शीर्ष स्थानमा रहेको टिमसँग खेल्नेछ।

यसअघि नेपालले आइसिसीका अरु स्थायी सदस्यविरूद्ध खेले पनि वरीयताको नम्बर एक टिमसँग भने एकदिवसीय खेल खेलेको थिएन।

यस्तै नेपालले एकदिवसीय खेलमा पाकिस्तानसँग पहिलोपटक खेल्न लागेको हो। औपचारिक रुपमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षपछि नेपाललाई पाकिस्तानसँग एकदिवसीय खेल खेल्ने अवसर जुरेको हो।