
पपुवा न्युगिनीसँग खेल्दै नेपाल, नजर फाइनलतर्फ
घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक टि–२० सिरिजको तेस्रो खेलमा नेपालले आज पपुवा न्यूगिनीसँग खेल्दै छ । खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा १२ः३० बजे सुरु हुनेछ ।
लगातार दुई खेल जितेको नेपाल जारी त्रिकोणात्मक टि–२० श्रृंखलामा एक्लो अपराजित टिम हो । नेपालले यसअघि पीएनजीलाई हराइसकेको छ भने मलेसियालाई पनि पराजित गरेको छ । त्यसैले नेपाल लगातार तेस्रो जित निकाल्र्दै फाइलन पुग्ने दाउमा छ।
पीएनजीविरुद्ध मैदान उत्रँदा नेपालको नजर फाइनलतर्फ हुनेछ । नेपालले पीएनजीलाई हराएमा एक खेल अगावै फाइनलमा स्थान पक्का गर्नेछ । पीएनजीका लागि भने फाइनल सम्भावना कायम राख्न नेपाल विरुद्धको खेल जित्नैपर्छ ।
यसअघि पहिलो खेलमा नेपालले पीएनजीलाई १५ रनले पराजित गरेको थियो । दोस्रो खेलमा मलेसिया विरुद्ध ६ विकेटको सहज जित निकालेको नेपाल लगातार तेस्रो खेल जित्ने योजनामा छ ।
बुधबार मलेसियालाई हराएपछि नेपालका कप्तान सन्दीप लामिछानेले टिमको लक्ष्य सबै खेल जितेर फाइनल पुग्ने र श्रृंखला नै जित्ने रहेको बताएका थिए । ‘पीएनजीसँगको खेलका लागि योजना बनाउनेछौं । हामी सबैजना शृंखला जित्ने लक्ष्यमा छौं । चार खेल जित्दै फालाईनल पनि जित्ने लक्ष्य छ,’ सन्दीपले भनेका थिए, ‘अझै फाइनल पुगेको छैन । फाइनल पुग्न एक खेल जित्नैपर्छ ।’
नेपालसँग पहिलो खेलमा पराजित भएको पीएनजीमाथि मलेसियाले ८ रनको ऐतिहासिक जित हात पारेको थियो । त्यसैले नेपालसँग खेल्दा पीएनजी केही दबाबमा हुनेछ ।