आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल र र यूएईबीचको खेल वर्षाका कारण रद्द भएको छ।
मलेसियाको क्वालालम्पुरस्थित सेलाङ्ग टर्फ क्लबमा आजका लागि तय भएको खेल वर्षाले प्रभावित हुँदा टससमेत नभई रद्ध भएको हो। योसँगै एक–एक अंक बाँडेको नेपाल समूह ‘ए’ को उपविजेतामा सीमित भएको छ ्।
समूह चरणका चार खेल जितेर सेमिफाइनलमा स्थान पक्का गरिसकेका नेपाल र यूएईको समान ९ अंक भएपनि नेट रनरेटका आधारमा नेपाल पछि पर्दै उपविजेता बनेको हो ।
अब नेपालले आगामी शुक्रबार समिफाइनलमा समूह ‘बी’ को विजेतासँग खेल्नेछ । समूह ‘बी’ अन्तर्गत आजै हङकङ र थाइल्यान्डबीच खेल हुँदै छ । यस खेलबाट नेपालको प्रतिद्वन्द्वी तय हुनेछ । यूएईले भने समूह ‘बी’ को उपविजेतासँग खेल्नेछ ।
सेमिफाइनलमा नेपाल विजय भएमा महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पर्नेछ । फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा हुने ग्लोबल टी–२० क्वालिफायर खेल्न पाउनेछन् । प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।