फेरि चलेन नेपालको व्याटिङ, जिम्बाबे ४० रनले विजयी

सिंगापुरमा जारी त्रिकोणात्मक टि–२० सिरिजको तेस्रो खेलमा नेपालले पुनः कमजोर व्याटिङ प्रदर्शन गरेको छ । मंगलबार राति सिंगापुरस्थित इन्डियन एसोसिएसन मैदानमा भएको खेलमा व्याटिङ नचल्दा नेपाल टेस्ट राष्ट्र जिम्बाबेसँग ४० रनले पराजित भयो ।

डलब राउन्ड रोबिन लिगका आधारमा भइरहेको प्रतियोगितामा जिम्बाबेसँग नेपालको यो लगातार दोस्रो हार हो । सिरिजको उद्घाटन खेलमा नेपाल जिम्बाबेसँग ५ विकेटले पराजित भएको थियो ।

टस जितेर नेपालले फिल्डिङ रोजेपछि ब्याटिङ गर्दै जिम्बाबेले दिएको १६१ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२० रन मात्र बनाउन सक्यो । नेपालका लागि विनोद भण्डारीले सर्वाधिक ३३ रन बनाए ।

यस्तै, आरिफ सेखले २५, करण केसीले १८ रन बनाए भने कप्तान पारस खड्काले १२ रनको योगदान दिए । अन्य ब्याट्सम्यानले गतिलो योगदान दिन सकेनन् । अघिल्लो दुई खेलमा ओपनिङमा इशान पाण्डे असफल भएपछि आएका पवन सर्राफमा शुन्य रनमा पभेलियन फर्किए भने अर्का भरपर्दा ब्याट्सम्यान तथा उपकप्तान दीपेन्द्रसिंह ऐरीले पनि ४ रन मात्र बनाउन सके ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा जिम्बाबेका कप्तान सेन विलियम्सनले सर्वाधिक ३ विकेट लिए । उनले ४ ओभरमा २१ रन खर्चिए । यस्तै, टिनोटेन्डा मुटुम्बोट्जीले २ विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको जिम्बाबेको सुरुवात पनि राम्रो हुन सकेन । उसले रन नजोड्दै ओपनर बरिन चरीलाई गुमाएको थियो । लगत्तै अर्का ओपनर रेगिस चाडवाक पनि ६ रनमा र पिटर मुर २१ रनमा आउट भएपछि जिम्बाबे ४.६ ओभरमा ३८÷३ को नाजुक अवस्थामा आएको थियो ।

त्यसपछि आएका कप्तान विलियम्सनले अर्धशकीय पारी गर्दै जिम्बाबको इनिङ उकासेका थिए । विलियम्सनले ३५ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ५३ रन बनाए । यस्तै, रायन बुरीले २८, टिनोटेन्डाले २० रनको योगदान दिए ।

नेपालका लागि मध्यम गतिका बलर सोमपाल कामी र लेग स्पिनर सन्दीप लामिछानेले कसिलो बलिङ प्रदर्शन गरे । सोमपालले ४ ओभरमा १५ खर्चिएर २ विकेट लिए भने सन्दीप पनि ४ ओभरमा २७ रन खर्चिएर २ विकेट लिए । यस्तै, अविनाश बोहोरा र कप्तान पारसले एक–एक विकेट लिएका थिए ।

यो पराजयसँगै शृंखला जित्ने नेपालको सम्भावना कमजोर बनेको छ । प्रतियोगितामा तीन खेल खेल्दा नेपालले एक जितका साथ दुई अंक बटुलेको छ । नेपालले आफ्नो दोस्रो खेलमा सिंगापुरलाई ९ विकेटले पराजित गरेको थियो । प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो अन्तिम खेलमा बुधबार आयोजक सिंगापुरसँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *