विश्वकप लिग २ र त्यसमा पनि विशेष गरी घरेलु मैदानमा देखाएको उत्कृष्ट प्रदर्शनलाई विश्वकप छनोट क्रिकेटमा उतार्न नेपाल आतुर रहेको छ । नेपालले जिम्बावेमा आइतबार सुरु हुने विश्वकप छनोटको पहिलो खेलमै घरेलु टोलीको सामना गर्ने छ।
नेपाल र जिम्बाबेबीचको खेल हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ।
नेपालले पहिलोपल्ट एकदिवसीय अन्तर्राष्ट्रियमा टेस्ट राष्ट्रसँग खेल्न लागेको हो। नेपालले चार वर्षअघि जिम्बावेमै भएको विश्वकप छनोटमा पनि घरेलु टोलीसँग खेलेको थियो । तर, नेपालसँग त्यतिखेर एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता थिएन।
१० राष्ट्र सहभागी जिम्बावेको त्यही प्रतियोगितामा आठौं हुँदै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त गरेको थियो। जिम्बावेसँगको त्यो खेलमा नेपालले १ सय १६ रनको हार बेहोरेको थियो ।
चार वर्षअघि नेपालबारे जिम्बावे अपरिचितजस्तै थियो । अहिले स्थिति फरक छ । दुवै टोली एकअर्काका बारेमा जानकार छन् । टोलीका प्रमुख खेलाडी सिकन्दर राजा र रायन बर्लले नेपाल आएर विभिन्न फ्रेन्चाइज लिग खेलिसकेका छन् ।
जिम्बावे टोलीमा राजाको प्रभुत्व छ । उनले पछिल्ला १४ खेलमा जिम्बावेबाट ४८।४५ को औसतमा सर्वाधिक ५ सय ३३ रन बनाउनुका साथै सर्वाधिक १३ विकेट लिएका छन् । त्यस्तै इन्नोसेन्ट काइआले १२ एकदिवसीय अन्तर्राष्ट्रियमा २ सय ७८ रन र सिन विलियम्सले ७ खेलमा २ सय ३७ रन बनाएका छन्।
वेस्ली माधेभेरे जिम्बावेका अर्का प्रमुख खेलाडी हुन् । तीन वर्षअगाडि सेतो बलको क्रिकेटमा ‘डेब्यु’ गरेयता उनले १२ अर्धशतक बनाइसकेका छन् । एकदिवसीय अन्तर्राष्ट्रियमा उनले २९ खेलमा ५ सय ९७ रन जोडिसकेका छन् । अलराउन्डर उनले यसै वर्ष नेदरल्यान्ड्सविरुद्धह्याट्रिक विकेट लिएका थिए।
भीम सार्कीको आगमनपछि नेपालको मध्यपंक्ति मजबुत हुँदै आएको छ । उनले पछिल्ला ८ खेलमा ४७।८३ को औसतमा २ सय ८७ रन बनाइसकेका छन् । त्यस्तै आसिफ शेखले १० खेलमा ४० माथिको औसतमा ३ सय २४ रन बनाइसकेका छन् ।
कुशल भुर्तेलले ओमानविरुद्धको पछिल्लो अभ्यास खेलमा शतक नै बनाएका थिए । नेपालले ओमानसँगको अभ्यास खेलमा २ विकेटको विजय हात पारे पनि त्यसअघि दक्षिण अफ्रिकामा खेलिएको दुई अभ्यास खेलमा क्रमशः स्कटल्यान्डसँग ७ र नेदरल्यान्ड्ससँग ५ विकेटको हार बेहोरेको थियो । जिम्बावे आएर ओमानसँग खेल्नुअघि नेपाललाई मंगलबार आधकारिक पहिलो अभ्यास खेलमा यूएईले ३ विकेटले स्तब्ध पारेको थियो।