महिला विश्वकप छनोट : हङकङमाथि नेपालको सानदार जित

आसन्न टि–२० र एकदिवसीय महिला विश्वकपको एसिया क्षेत्रको छनोटमा नेपालले हङकङमाथि सानदार जित हात पारेको छ । थाइल्यान्डमा जारी एसिया छनोटको चौथो खेलमा नेपालले हङकङलाई ४ विकेटले पराजित गर्‍यो ।

प्रतियोगितामा यो नेपालको तेस्रो जित हो । ४ खेलमा नेपालले ३ जित र १ हारको सामाना गरेको छ । नेपाले पहिलो खेलमा मलेसियालाई ३२ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा नेपाल आयोजक थाइल्यान्डसँग ५७ रनले पराजित भएको थियो । यस्तै नेपाले तेस्रो खेलमा युएईलाई ७ विकेटले पराजित गरेको थियो ।

प्रतियोगितामा ४ खेलमा चारै खेले जितेको आयोजक थाइल्यान्ड ८ अंकका साथ शीर्ष स्थानमा छ । यस्तै ५ खेलमा ८ अंकक जाडेको युएई दोस्रो र ५ खेलमै ६ अंक जोडेको चीन तेस्रो स्थानमा छ । ४ खेलमा ६ अंक नै भएपनि नेपाल रनरेटमा पछि पर्दै चौथो स्थानमा छ ।

नेपाल, थाइल्यान्ड, चीन, युएई, हङकङ, मलेसिया, कुवेत गरी ७ राष्ट्र सहभागी एसिया छनोटबाट शीर्ष स्थानमा रहने एक टिम मात्र महिला विश्वकपको ग्लोबल छनोटका लागि छानिने छ । नेपाल थाइल्यान्डसँग पराजित भएकाले नेपालको ग्लोबल छनोट खेल्ने सम्भावना निकै कठीन छ । रनरेटमा पनि नेपाल निकै पछि परेकाले पनि नेपालको सम्भावना अझ कमजोर बनेको हो ।

बैंककस्थित एसियन इन्स्टिच्यूट अफ टेक्नोलोजीको मैदानमा आज भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको हङकङले दिएको ६३ रनको लक्ष्य नेपालले १८.३ ओभरमा ६ विकेट गुमाउँदै भेट्टायो ।

नेपाललाई जित दिलाउन अप्सरी बेगमले सर्वाधिक २४ रन बनाइन् भने सरिता मगरले १६ रनको योगदान दिइन् । अप्सरीले ३५ बलमा ३ चौका प्रहार गरिन् भने सरिताले ३० बलमा खेलेकी थिइन् ।

६३ रनको सामान्य लक्ष्य पछ्याएको नेपालको सुरुवात भने राम्रो हुन सकेन् । नेपालले ६ रन बनाउँदा आफ्ना दुवै ओपनरलाई गुमाएको थियो । त्यसपछि पनि कप्तान रुबिना क्षेत्री र इन्दू बर्मा चाँडै आउट हुँदा नेपाल दबाबमा परेको थियो । तर, अप्सरी र सरिताले ३१ रनको साझेदारी गर्दै नेपाललाई जित दिलाए ।

हङकङका लागि जस्मिन तित्मुसले सर्वाधिक ३ विकेट लिइन् भने करी चान, यि सान तु र मारिको हिलले समान १ विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ६२ रन बनाएको थियो । उसका लागि मरिना लोम्पलोउघले १९, यस्मिन दस्वानी १६ र बेला पुनले ११ रनको योगदान दिइन् ।

नेपालका लागि नेरी थापाले धातक बलिङ गरिन् । उनले ४ ओभरमा ८ रन खर्चेर ६ विकेट लिइन् । यस्तै सीता रानामगरले ४ ओभरमा १ मेडनसहित ७ रन खर्चेर २ विकेट लिइन् ।

नेपालले प्रतियोगिताको पाचौं खेलमा चीनसँग खेल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *