क्रिकेटराष्ट्रिय क्रिकेट

नेपालकाे ३ दशकदेखि सपना साकार हुँदै

एसिया कप क्रिकेट अनि भारत र पाकिस्तानसँगको खेल रोहित पौडेल र उनको टिम मात्र नभई नेपाली क्रिकेटले २७ वर्षदेखि देखेको एउटा सपना हो । पाकिस्तानसँग बुधबार मुल्तान क्रिकेट रंगशालामा खेलेर नेपालले झन्डै तीन दशकदेखिको त्यो सपना पूरा गर्दै छ।

सन् १९९६ मा नेपालले मलेसियामा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताको हिसाबमा एसीसी ट्रफी खेलेको थियो । यो प्रतियोगिता पनि एसिया कप छनोटको आधार थियो।

प्रत्येक दुई वर्षमा हुने एसीसी ट्रफी र नयाँ स्वरूपमा आएको प्रिमियर कपमा नेपालले सफलता कहिल्यै हात पार्न सकेन र एसिया कप खेल्न झन्डै तीन दशक लाग्यो । सन् २००२ को एसीसी ट्रफीमा फाइनलमा पुग्दै नेपाल एसिया कपका लागि छनोट भए पनि कारगिल युद्धसँगै भारत र पाकिस्तानबीच तनाव बढ्दा एसिया कप नै स्थगित हुन पुगेको थियो । अहिले पनि भारत र पाकिस्तानबीचको उस्तै तनाव छिचोल्दै नेपाल एसिया कप खेल्न कराँची हुँदै मुल्तान आइपुगेको छ।

अहिले सारा नेपाली यसैको प्रतिक्षामा छन् । सारा नेपाली र देशलाई नै अहिले क्रिकेटको यो माहोलले एकजुट बनाएको छ ।

नेपालले अब भारत र पाकिस्तानसँग खेल्नेछ भन्ने सुन्दा पनि मनै आनन्द हुन्छ । अब धेरै बेर कुर्नपर्दैन । नेपालले आजै बुधबार मुल्तानमा घरेलु टोली पाकिस्तानसँग खेल्दै त्यो सपना पनि पूरा गर्दैछ । विश्व चर्चित बाबर अजामको कप्तानीमा रहेको पाकिस्तान भर्खरै मात्र ओडीआईको नम्बर वान टोली बनेको छ।

सोमपाल कामी भने नेपाली क्रिकेटको विश्वकप र एसिया कप खेल्ने दुवै पुस्तालाई प्रतिनिधित्व गर्नेछन् । ट्वान्टी–२० विश्वकपमा प्रतिघण्टा १ सय ४० को गतिमा बल फालेर चर्चामा आएका सोमपालका लागि एसिया कप एक हिसाबले एकदिवसीय अन्तर्राष्ट्रियमा यो पुनरागमनजस्तै हुनेछ ।