क्रिकेटराष्ट्रिय क्रिकेट

‘पाकिस्तानसँगको खेल नेपालीका लागि पर्वजस्तै हो’

नेपाली क्रिकेट टिमले आज एकदिवसीय क्रिकेटको नम्बर १ टिम पाकिस्तानसँग खेल्दै छ। खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ पाकिस्तानको मुल्तानमा हुनेछ।

नेपाली टिमका कप्तान रोहित पौडेलले पाकिस्तानसँगको खेल नेपालीका लागि पर्वजस्तै भएको बताएका छन्। प्रिम्याच कन्फ्रेन्समा रोहितले यो दिनका लागि हरेक नेपालीले तीन दशकदेखि प्रतिपक्षा गरेको बताए।

‘सबै नेपालीले यो स्तरमा हामीलाई हेर्न चाहन्थे। नेपाललाई दुई दशकयता हामीले ठूलो प्लेटफर्ममा ल्याउन पाएका छौं। हाम्रो लागि भोलि ठूलो पर्व हो,’ रोहितले भने।

प्रिम्याच कन्फरेन्समा उनले नेपाल एसिया कप खेल्न योग्य टिम रहेको बताए। उनले भारत र पाकिस्तान दुवैलाई टक्कर दिन नेपाली टिम तयार रहेको बताए।

‘दुवै टोलीसँग स्तरीय ब्याटर र बलर छन् । हाम्रो उद्देश्य भनेको ‘वान बल ब्याटल’ नै हो । प्रतिद्वन्द्वी जोसुकै होस्, एउटा एउटा बलमा केन्द्रित हुन चाहन्छौं,’ रोहितले भने, ‘हामीले जिम्बावेमा भएको विश्वकप छनोटदेखि राम्र्रो तयारी गर्दै आएका छौं, त्यसैले हाम्रो तयारी राम्रो छ । उनीहरूका ब्याट र बलर पक्कै विश्व स्तरीय छन् ।’

‘हामी पहिलो पटक एसिया कप खेलिरहेका छौं, यो हामी सबैका लागि ठूलो सफलता हो । नेपालका लागि यो ठूलो अवसर हो किनभने पाकिस्तान धेरै राम्रो टोली हो । हामी पाकिस्तान र भारत दुवैलाई प्रतिस्पर्धात्मक खेल दिन चाहन्छौं । मलाई लाग्छ, हामी यहाँ योग्य भएर नै आएका हौं,’ पाकिस्तान र नेपालबीचको फरक के हो भन्ने प्रश्नमा रोहितले भने, ‘दुई टोलीबीचको फरक भनेको अनुभव हो, स्किलका हिसाबले हेर्ने भने दुवै टोलीका खेलाडीहरू समान छन् । पाकिस्तानी अनुभवी टोली हो ।’

आफूहरुले विपक्षी को छ भन्ने नसोची हरेक बलमा राम्रो खेल्ने योजना बनाएको कप्तान रोहितले बताए । ‘हामीले एसिया कपका लागि राम्रो तयारी गर्‍यौं, विशेषत विश्वकप छनोट खेल्मा जिम्बावेमा राम्रो तयारी भयो । हामीले त्यसपछि एसीसी इमर्जिङ टिम्स एसिया कपमा पनि राम्रो तयारी पायौं’, उनले भने, ‘हामीसँग विश्वस्तरीय बलर छन्, हामी हरेक बलमा प्रेजेन्ट भएर खेल्नेछौं।’