पहिलो पटक एसिया कप क्रिकेट खेलेर नेपाली राष्ट्रिय क्रिकेट टिम बुधबार स्वदेश फर्किने भएको छ।
भारत र पाकिस्तानजस्ता हस्ति टिमसँग खेलेर नेपाली टिम बुधाबार दिउँसो १२ः३५ बजे श्रीलंकाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।
‘एसिया कपमा उत्कृष्ट प्रदर्शन गरेको नेपाली राष्ट्रिय क्रिकेट टिम बुधबार १२ः३५ बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्नेछ,’ क्यालने फेसबुकमा लेखेको छ, ‘खेलाडीहरूले प्रतियोगिता भरि आफ्नो अतुलनीय प्रतिभा र दृढ संकल्प प्रदर्शन गरेर राष्ट्रलाई गौरवान्वित बनाएका छन्।’
एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग खेलेको थियो । पाकिस्तानसँग नेपालले उद्घाटन खेल मुल्तानमा खेलेको थियो। एकदिवसीय क्रिकेटको नम्बर एक टिम पाकिस्तानसँग नेपालले राम्रो बलिङ प्रदर्शन गरेको थियो। सो खेलमा नेपाल २३८ रनले पराजित भएको थियो।
भारतसँग सोमबार श्रीलंकामा भएको खेलमा नेपाली खेलाडी उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेका थिए। भारतविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दैै ४८.२ ओभरमा अलआउट हुँदै २३० रन बनाएको थियो। नेपालका लागि आसिफ सेख ५८ र सोमपाल कामीले ४८ रन बनाएका थिए। वर्षाले प्रभावित बनेको खेल नेपालले १० विकेटले हारेको थियो।
खेल नेपालले हारेपछि नेपाली टिमको चर्चा र प्रसंशा भएको थियो। अन्तर्राष्ट्रिय क्रिकेटका दिग्गजहरुले पनि नेपाली खेलाडी र नेपाली टिमको भविष्य उज्वल रहेको बताएका थिए।