पहिलो एसिया कप खेलेर फर्किएको नेपाली क्रिकेट टिमलाई अर्ना वियरले नगदसहित सम्मान गर्ने घोषणा गरेको छ। उसले सामाजिक सञ्जालमार्फत टिमका प्रत्येक सदस्यलाई जनही ५० हजार दिने घोषणा गरेको हो।
खेलअघि गरेको घोषणा अनुसार पुरस्कार नपाउने क्रिकेटरलाई जनही ५० र प्रशिक्षकसहित टिमका स्टाफलाई जनही २५ हजार दिने उसले जनाएको छ। ५० हजार पाउने खेलाडीमा कप्तान रोहितकुमार पौडेल, आरिफ सेख, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, सन्दीप जोरा, अर्जुन साउद किशोर महतो र श्याम ढकाल छन्।
यस्तै, उत्कृष्ट प्रदर्शन गरेका सोमपाल कामीले सर्वाधिक ३ लाख २५ हजार रुपैयाँ पाउने छन्। उनले पाकिस्तानविरुद्धको खेलको १ लाख र भारतसँग खेलबाट २ लाख २५ हजार पाउने भएका हुन्।
ओपनर कुशल भुर्तेलले भारतसँगको खेलबाटै २ लाख ७५ हजार पाउने भएका छन्। उनले सो खेलमा १ छक्का ३ चौका प्रहार गरेका थिए। यस्तै, भारतविरुद्ध अर्धशतक बनाएका आसिफ सेखले २ लाख रुपैयाँ पाउने छन्। उनले अर्धशतकसशित ८ चौकाको प्रहार गरेका थिए।
यस्तै, गुल्सन झाले पाकिस्तानसँगको खेलको १ लाख र भारतसँगको खेलको ७५ हजार गरी १ लाख ७५ हजार पाउँदा कुशल मल्लले पाकिस्तानसँगको खेलबाट १ लाख रुपैयाँ पाउने छन्। पाकिस्तानसँग दुवै १–१ छक्का प्रहार गरेका थिए।
यस्तै, भारतविरुद्ध ३ चौका प्रहार गरेका दीपेन्द्रसिंह ऐरीले ७५ हजार रुपैयाँ पाउने छन्।
भारत र पाकिस्तान जस्ता ठूला टिममसँग कडा मेहनत गर्दै नेपालीको शीर ठाडो बनाएको भन्दै क्रिकेटरको मनोबल थप बढाउन सम्मान गर्ने लागिएको जनाएको छ। उसले नेपाली टिमलाई शुक्रबार बेलुका ५ः३० बजे एक कार्य गर्दै सम्मान गरिने जनाएको छ।
