नेपाली क्रिकेट टिम स्वदेश फर्कियो

आईसिसी विश्वकप लिग–२ अन्तर्गतको दोस्रो त्रिकोणात्मक सिरज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टिम मंगलबार बिहान स्वदेश फर्किएको छ । नेपाली टिम बिहान ७ः२५ बजे ओमानबाट नेपाल आइपुगेको हो।

कप्तान ज्ञानेद्र मल्लसहित १७ खेलाडी, म्यानेजर, फिजियो र टेक्निकल एनालिस्टसहित २० जनाको टोली नेपाल फर्किएको छ। मुख्य प्रशिक्षक डेभ वाटमोर भने उतैबाट श्रीलंका लागेका छन्। उनले नेपाली टिम ओमान पुगेको केही दिनमै प्रशिक्षकबाट राजिनामा दिएका थिए। यस्तै नेपाली टिमका ट्रेनर राकेश काशीभाई गोएल पनि उतैबाट भारत गएका हुन् ।

क्रिकोणात्मक सिरिजका २ मध्ये नेपालले २ खेल जितेको थियो भने २ खेलमा पराजित भएको थियो । जसमध्ये नेपालले पहिलो खेलमा अमेरिकालाई ५ विकेटले हराएको थियो भने दोस्रो खेलमा ओमानसँग ५ विकेटले नै पराजित भएको थियो । यस्तै नेपाल तेस्रो खेलमा अमेरिकासँग ६ विकेटले पराजित भएको थियो भने अन्तिम खेलमा नेपालले ओमानमाथि ७ विकेटको जित निकालेको थियो।

ओमान भ्रमणका क्रममा नेपालले पपुवा न्युगिनीसँग २ खेलको एकदिवसीय सिरिज पनि खलेको थियो। ती दुवै खेलमा नेपाल विजयी भएको थियो।

विश्वकप लिग २मा नेपाल ८ अंकसहित चौथो स्थानमा उक्लिएको छ। १४ खेलमा २२ अंक जोडेको ओमान शीर्ष स्थानमा छ भने १६ खेलमा १४ अंक जोडेको अमेरिका दोस्रोे स्थानमा छ।

नेपालले अब विश्वकप लिग २ मा अर्को सिरिज २०२२ फेब्रुअरीमा खेल्ने तालिका छ।

Facebook Comments Box