त्रिकोणात्मक सिरिजका नेपाली टिमको घोषणा, कमल पहिलोपटक राष्ट्रिय टिममा, सोमपाल परेनन्

विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको पहिलो त्रिकोणात्मक सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय टिमको घोषणा गरेको छ ।

माघ २२ देखि २९ गतेसम्म टियू मैदानमा हुने अमेरिका र ओमानविरुद्धको त्रिकोणात्मक सिरिजका लागि क्यानले शुक्रबार १४ सदस्यीय टिम घोषणा गरेको हो । ज्ञानेन्द्र मल्लको कप्तानीमा घोषणा गरिएको १४ सदस्यीय टिममा युवा खेलाडी कुशल मल्ल र कमलसिंह ऐरी स्थान बनाउन सफल भएका छन् ।

दुवैले पहिलोपटक राष्ट्रिय टोलीमा प्रवेश पाएका हुन् । नियमित खेलाडी सोमपाल कामी र वसन्त रेग्मी टोलीमा परेनन्् । बायाँहाते बलर सोमपाल डाढको समस्याका कारण आराममा छन् भने वसन्त घरायसी कारणले क्लोज क्याम्पमा सहभागी भएनन् ।

मिडियम फास्ट बलर कमल पहिलोपटक एकदिवसीय टोलीमा सेमेटिएका खेलाडी हुन् । यू–१९ का नियमित खेलाडी कमलले इनरुवामा भएको प्रतियोतिगामा एक खेल मात्र खेलेका थिए । एपिएफका खेलाडी कमलले आर्मीविरुद्ध बलिङमा ३५ रन खर्चिएका थिए । यता डेढ वर्षपछि राष्ट्रिय टोलीको प्रारम्भिक चरणमा स्थान बनाएका विकेटकिपर ब्याट्सम्यान सुवास खकुरेल वैकल्पिक खेलाडीमा परेका छन् ।

यसैसाता इनरुवामा भएको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा कुशलले उत्कृष्ट प्रदर्शन गरेका थिए । त्रिभुवन आर्मीबाट प्रतिस्पर्धा गरेका कुशलले एपिएफविरुद्ध १११ रन बनाउनुका साथै दुई विकेटसमेत लिएका थिए । सो प्रतियोगितामा १९६ रन उनले पाँच विकेट पनि हात पारे । नेपाली यू–१९ का भरपर्दा खेलाडी कुशलसँग तीन टी–२० अन्तर्राष्ट्रिय खेलको अनुभव छ । उनले २०१९ को सेप्टेम्बरमा सिंगापुरमा भएको सिरिजमा जिम्बावेविरुद्ध डेब्यु गरेका थिए ।

बायाँहाते ब्याट्सम्यान कुशलले विश्वकै पुरानो क्लब एमसिसीविरुद्धको प्रतिस्पर्धामा १२ रन बनाउनुका साथै एक विकेट लिएका थिए । घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गरेका कारण उनी यसपटक एकदिवसीय टोलीमा स्थान बनाउन सफल भएका हुन् ।

को–को छन् टिममा ?

ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), पारस खड्का, शरद भेषवाकर, सन्दीप लामिछाने, करण केसी, आरिफ सेख, विनोद भण्डारी, कमलसिंह ऐरी, सुसन भारी, रोहितकुमार पौडेल, ललितनारायण राजवंशी, कुशल मल्ल, अभिनास बोहरा ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.