न्युजिल्यान्डको प्रभावशाली जित, दक्षिण अफ्रिकाको चौथो हार

इंग्ल्यान्डमा जारी आइसिसी विश्वकप २०१९ को २५औं खेलमा केन विलियमसनले कप्तानी इनिङ खेल्दै नटआउट शतक बनाएपछि न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई ४ विकेटले पराजित गरेको छ । सम्हालिएर बलिङ गरेपनी ब्याट्सम्यानले धैर्यता गुमाउँदा दक्षिण अफ्रिका जारी विश्वकपमा चौथो हार बेहोर्न पुग्यो ।

न्युजिल्यान्डका कप्तानले टस जितेर लिएको फिल्डिङ गर्ने निर्णयलाई बलरले सहि साबित गर्दै दक्षिण अफ्रिकालाई २४१ रनको मध्यम योगफलमा सिमित गरे । ओपनर क्विन्टन डि ककलाई दोस्रो ओभरको पाँचौं बलमा व्यक्तिगत ५ रन बनाउँदा गुमाएको दक्षिण अफ्रिकाको इनिङ कप्तान फाफ डु प्लेसिस २३ रन बनाएर आउट भएपछी धर्मराएको थियो । 

तर, हासिम अमला र एइडेन मरक्रमले धराशायी इनिङ सम्हाल्दै सम्मानजनक स्कोरतर्फ डोहोर्‍याए । अमला र मरक्रमले क्रमश: ८३ बलमा ५५ र ५५ बलमा ३८ रन बनाउँदै विकेट पतन रोकेका थिए ।

५ ओभरको अन्तरालमा २५ रन जोड्दै पिचमा सेट भएका दुवै ब्याट्सम्यान पभेलियन फर्किएपछि अफ्रिका फेरि समस्यामा परेको थियो । तर, रसी भान डेर डुसेनले ६४ बलमा २ चौका र ३ छक्काको मद्दतमा ६७ रन तथा डेभिड मिलरले २ चौका र १ छक्का प्रहार गर्दै ३७ बलमा ३६ रन जोडेपछि अफ्रिकाले २४१ रनको मध्यम योगफल जोड्न सफल भयो । यस्तै, एन्डिल फेलुक्वायो डक आउट भए भने क्रिस मोरिसले ७ बलमा नट आउट ६ रन बटुलेका थिए ।

२४२ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा आएको न्युजिल्यान्डको सुरुवात पनि राम्रो हुन सकेन । बलरलाई पायक पर्ने वारविकसायर काउन्टी क्रिकेट क्लबको एड्बस्टन क्रिकेट मैदानमा भएको खेलमा दक्षिण अफ्रिकाका बलरले सम्हालिएर बलिङ गर्दै अन्त्यसम्म न्युजिल्यान्डलाई दवाबमा राखे ।

ओपनर कोलिन मुनरो तेस्रो ओभरको पहिलो बलमा ९ रन बनाएर आउट भए भने अर्का ओपनर मार्टिन गुप्टिल ५९ बलमा ३५ रन जोडेको अवस्थामा हिट विकेट भएर पभेलियन फर्किएका थिए । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान केन विलियमसनले १३८ बलमा नटआउट १०६ रन जोडेपछि न्युजिल्यान्डको जित सम्भव भएको थियो । उनले ९ चौका तथा छक्का प्रहार गरेका थिए । यो उनको विश्वकपमा पहिलो शतक पनि हो ।

दक्षिण अफ्रिकालाई ठूलो स्कोर बनाउनबाट रोक्न लकि फर्गुसनले १० ओभरमा ५९ रन दिएर ३ विकेट लिएका थिए । यस्तै, ट्रेन्ट बोल्ट, कोलिन ग्रान्डहोम र मिचेल स्यान्टनेरले समान १-१ विकेट लिएका थिए ।

कप्तानका अलावा अलराउन्डर कोलिन डे ग्रान्डहोमले आक्रामक ब्याटिङ गर्दै ४७ बलमा ५ चौका र २ छक्काको मद्दतमा ६० रन जोड्दै न्युजिल्यान्डको जित सम्भव बनाएका थिए । जेम्स नीसमले ३४ बल जोड्नुबाहेक अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंक बनाउन नसक्दा न्युजिल्यान्डको इनिङ पनि कुनैबेला धराशायी भएको थियो ।

तर, म्यान अफ द म्याच समेत भएका विलियमसनको मात्रै ३ वटा क्याच र एउटा रनआउट मिस गरेपछि दक्षिण अफ्रिकाले दोस्रो जित हात पार्ने अवसर गुमाउन पुग्यो । धारिलो बलिङ गरेपनि फिल्डिङमा बारबार चुकेपछी अफ्रिकाले जित्न लागेको खेल हारेको थियो ।

दक्षिण अफ्रिकाका लागि १० ओभर बलिङ गरेका क्रिस मोरिसले ४९ रनमात्र दिएर ३ विकेट लिएका थिए । यस्तै, कागिसो रबाडा, लुनि एङ्गिडी र एन्डिल फेलुक्वायोले समान १-१ विकेट लिएका थिए ।

जितसँगै न्युजिल्यान्ड अंकतालिकाको शीर्षस्थानमा पुगेको छ । ५ खेलमध्ये वर्षका कारण १ खेलमा अंक बाँडेको न्युजिल्यान्डले बाँकी ४ खेलमा शतप्रतिशत जित निकालेको छ । यस्तै, पुछारबाट तेस्रो स्थानमा रहेको दक्षिण अफ्रिकाले ६ खेलमा एउटामा मात्र जित निकाल्दै ४ खेल गुमाएको छ भने एउटा खेल वर्षाका कारण रद्द भएक थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.