इंग्ल्यान्डले दियो ३०६ रनको लक्ष्य, न्युजिल्यान्डको खराब सुरुवात

विश्वकप २०१९ को समूह चरणको आफ्ना अन्तिम खेलमा इंग्ल्यान्ड र न्युजिल्यान्ड रिभरसाइड ग्राउन्डमा प्रतिस्पर्धा गरिरहेका छन् । टस जितेर ब्याटिङ रोजेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३०५ रन जोडेको छ ।

इंग्ल्यान्डलाई उत्कृष्ट सुरुवात दिलाउने क्रममा ओपनरद्वय जेसन रोय र जोनी बेइस्र्टोले १२३ रनको पार्टनरसिप गरे । ९९ बल खेलेका बेइस्र्टोले १५ चौका र १ छक्काको मद्दतमा १०६ रन बनाउँदै शतकिय इनिङ खेले । पहिलो विकेटका रुपमा १९औं ओभरमा आउट हुनुअघि रोयले ८ चौका प्रहार गर्दै ६१ बलमा ६० रन जोड्दै अर्धशतक बनाएका थिए ।

ओपनिङ चलेपनि मध्यक्रम धर्मराएपछि इंग्ल्यान्डले अपेक्षाकृत स्कोर खडा गर्न भने सकेन । तेस्रो नम्बरमा आएका जोए रुटले २४ रन र इयोन मोर्गानले ४२ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले उल्लेखनिय योगदान गर्न सकेनन् ।

आयोजक इंग्ल्यान्डको मध्यक्रम ध्वस्त पार्ने क्रममा ट्रेन्ट बोल्ट, म्याट हेनरी र जेम्स नीसामले समान २–२ विकेट लिए भने मिचेल सान्टनर र टिम साउथीले १–१ विकेट लिए ।

३०६ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा आएको न्युजिल्यान्डको सुरुवात भने सुखद हुन सकेन । ओपनर हेनरी निकोल्स गोल्डेन डकआउट भए भने मार्टिन गुप्टिल १६ बलमा ८ रन जोडेर पभेलियन फर्किएका छन् ।

यस्तै, उत्कृष्ट फर्ममा रहेका कप्तान केन विलियमसन ४० बलमा २७ रन जोड्दै रनआउट भए । १६औं ओभरमा रोस टेलरले प्रहार गरेको स्ट्रेट ड्राइभ बलर मार्क उडको औंलाको टुप्पामा छोएर स्टम्पमा लागेपछि क्रिज बाहिर रहेका विलियमसन अभागी साबित हुँदै मैदान छाड्न वाध्य भएका हुन् ।

यसैगरी, १७औं ओभरमा ‘रनिङ बिट्विन द विकेट’मा चुक्दा दोस्रो रन पुरा गर्नुअघि रोस टेलर आफु पनि ४२ बलमा २८ रन जोडेर आउट हुन पुगे । १८ ओभरमा ४ विकेट गुमाएर केबल ७५ रन जोड्दै धराशायी बनेको न्युजिल्यान्डको इनिङ सम्हाल्न टम लाथम र जेम्स नीसाम क्रिजमा संघर्षरत छन् । लाथमले १ बलमा २ रन जोडेका छन् भने नीसामले २ बलमा १ रन बनाएका छन् ।

उत्कृष्ट फर्ममा रहेका जोफ्रा आर्चर र क्रिस ओक्सले न्यजिल्यान्डका ओपनरद्वयलाई पभेलियनको बाटो देखाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP