
स्टिभ स्मिथले बनाएर १ बलमा १६ रनको अनौठो कीर्तिमान
अस्ट्रेलियामा जारी घरेलु क्रिकेट बिग ब्यास प्रतियोगितामा एउटा अनौठो कीर्तिमान बनेको छ। स्टिभ स्मिथको एक बलमै सिड्नी सिक्सर्सले १६ रन जोडेको थियो।
यो स्कोर धेरैलाई पत्यार नलाग्न सक्छ। होबार्टमा भएको खेलमा यो दुर्लभ कीर्तिमान बनेको हो।
होबार्ट हुरिकेन्सका जोएल पेरिसको बलमा स्मिथले यो कीर्तिमान बनाएका हुन्। पेरिस खेलको दोस्रो ओभर बलिङ गर्न आएका थिए। क्रिजमा स्टिभ स्मिथ थिए। उनले पहिलो दुई बलमा कुनै रन बनाउन सकेनन्।
जोएल पेरिसको तेस्रो बल ‘नो बल’ फाले त्यसमा स्मिथले छक्का प्रहार गरे। अर्थात् गणना हुन बाँकी रहेको बलमै स्मिथले सात रन जोडे।
पेरिसले अर्को बलमा स्मिथले फ्री हिट पाएका थिए। पेरिसले यस पटक वाइड बल फ्याले। त्यो बल विकेटकिपरले समात्न सकेनन् र बल बाउन्ड्री पार पुगेर पाँच रन बन्यो। तर दोस्रो पटक पनि बल गणना भएन। यस बेलासम्म गणना हुन बाँकी रहेको बलमै स्मिथले १२ रन बनाइसकेका थिए।
उनले पाएको फ्री हिट बाँकी नै थियो र त्यो बलमा स्मिथले चौका प्रहार गरे। अर्थात्, स्मिथले वैध बलमा टोलीका लागि १६ रन बटुले।
खेलमा स्मिथले २२ बलमा अर्धसतक पुरा गरेका थिए। कुल ३३ बल खेलेका उनले चार चौका र ६ छक्काको मद्दतमा ६६ रन बनाएर आउट भए। खेल सिड्नीले २४ रनले जित्यो।