
नसिम चम्किँदा न्युजिल्यान्डमाथि पाकिस्तानको जित
फास्ट बलर नसिम शाहले उत्कृष्ट प्रदर्शन गरेपछि पाकिस्तानले पहिलो एकदिवसीयमा सोमबार न्युजिल्यान्डलाई पाँच विकेटले पराजित गरेको छ । योसँगै तीन खेलको सिरिजमा पाकिस्तान १–० ले अगाडि छ।
पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले दिएको २५६ रनको लक्ष्य पाकिस्तानले ११ बल बाँकी रहँदै ४ विकेट गुमाएर भेट्टायो। उसका बाबर अजाम, मोहम्मद रिजवान र फकर जमानले अर्धशतक बनाए । रिजवान ८६ बलमा ७७ रनमा अविजित रहँदा कप्तान बाबर ८२ बलमा ६६ रन बनाउँदै आउट भए।
ओपनर जमानले ७४ बलमा ५६ रन बनाए । हरिस सोहिल ३२ रनमा आउट हुँदा आगा सलमान १३ रनमा अविजित रहे। न्युजिल्यानडका मिचेल ब्राकवेलले २ तथा ग्लेन फिलिप्स र टिम साउदीले समान १–१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको पाहुना टोलीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५५ रन बनायो। न्युजिल्याण्डका लागि मिचेल ब्राकवेल ४३, टोम लाथमले ४२ रन बनाए भने ग्लेन फिलिप्स ३७ र ड्यारियल मिचेलले ३६ रन बनाए।
घरेलु टोलीका लागि नसिम शाहले १० ओभरमा ५७ रन खर्चिएर ५ विकेट लिदाँ उस्मान मिरले २ विकेट लिए । मोहम्मद वासिम र मोहम्मद नवाजले समान १–१ विकेट लिए।
अब दोस्रो वान डे बुधबार हुनेछ ।