खेलाडीको समर्थन गर्दै पारसले भने– क्यानले खेलाडीलाई अपमानित गर्‍यो

गत बुधबार नेपाल क्रिकेट संघ (क्यान) कप्तान ज्ञानेन्द्र मल्लासहित ४ खेलाडीलाई कारबाही गरेपछि अहिले नेपाली खेलकुद क्षेत्र तातेको छ। राष्ट्रका लागि खेलाडी माथि गरिएको कारबाहीप्रति नेतादेखि अभिनेतासम्मले चासो देखाएका छन्।

यही समयमा पूर्वकप्तान परस खड्का पनि खेलाडीको पक्षमा देखिएका छन् । समाजिक सञ्जालमार्फत् उनले मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीमाथि क्यानले गरेको कारबाही न्यायसंगत नभएको बताएका हुन्।

कप्तानबाट मल्ललाई हटाएर उक्त जिम्मेवारी लेग स्पिनर सन्दीप लामिछानेलाई दिइएको छ। यता, उपकप्तानको जिम्मेवारी भने कसैलाई पनि दिइएको छैन। यस्तै उनीहरूलाई ६ महिनाको सेन्ट्रल कन्ट्र्याक्ट समेत राखिएको छैन।

‘क्यानले खेलाडीहरुप्रति अपमानित व्यवहार गरेको छ। हामी आफ्ना खेलाडीहरुको समर्थनमा छौं,’ पारसले लेखेका छन्,‘ आशा छ क्यानले आफ्नो निर्णय फिर्ता लिनेछ र खेलाडीहरूलाई फेब्रुअरीमा हुने टी२० विश्वकप छनोटको तयारीमा ध्यान केन्द्रित गराउने छ।’

आगामी दिनमा नेपाली क्रिकेटको ओडीआई स्टाटस कायम राख्न र फेब्रुअरीमा हुने टी २० विश्वकप क्वालिफायरको तयारीमा खेलाडीलाई केन्द्रित गराउन पनि निर्णय फिर्ता लिनुपर्ने उनले बताएका छन्।

Facebook Comments Box