क्रिकेटराष्ट्रिय क्रिकेट

क्यानको बागमति प्रदेश अध्यक्षमा पारस खड्काको उम्मेदवारी

नेपाल क्रिकेट संघ (क्यन)को बागमति प्रदेश अध्यक्षमा पारस खड्काले उम्मेदवारी घोषणा गरेका छन्। राष्ट्रिय टिमका पूर्वकप्तान पारसले शुक्रबार पत्रकार सम्मेलन गर्दै उम्मेदवारी घोषणा गरेका हुन्।

काठमाडौं जिल्ला क्रिकेट संघमा सर्वसम्मत कार्यसमिति सदस्य बनेका पारसलाई प्रदेश अध्यक्षका लागि बागमतिका ४ जिल्लाले समर्थन गरेका छन्। उनलाई काठमाडौं, ललितपुर, भक्तपुर र मकवानपुर जिल्ला क्रिकेट संघले समर्थन गरेका छन्।

काठमाडौं जिल्ला क्रिकेट संघका अध्यक्ष दिवाकर घलेले पारसलाई अध्यक्षको रुपमा अघि सारेको बताउँदै बागमती प्रदेशका बाँकी जिल्ललाई पनि पारसलाई नै समर्थन गर्न आग्रह गरे।

यस्तै, पारस समूहबाट उपाध्यक्षमा मकवानपुर, सचिवमा ललितपुर र कोषाध्यक्षमा भक्तपुर जिल्ला क्रिकेट संघले तोकेका व्यक्ति उठ्ने सहमति भएको छ।

बागमती प्रदेशका वर्तमान अध्यक्ष राजु बस्नेत, उपाध्यक्ष प्रेम क्षेत्री र कोषाध्यक्ष अनिल अधिकारीसहित ७ सदस्यले पारसलाई अध्यक्षको लागि साथ दिने बताएका छन् ।

बागमती प्रदेशमा ६ जिल्लाका २४ र बागमती वर्तमान कार्यसमितिका १३ गरि कुल ३७ भोट हुनेछ । हरेक जिल्लाबाट चार प्रतिनिधिले प्रदेशमा मतदान गर्न पाउने छन् । प्रतिवद्धता अनुसार पारसले ३७ मध्य २३ मत प्राप्त गर्ने समिकरण बनेको छ ।