नेपाली टिम अहिले एसिया कप २०२३ खेल्नको लागि पाकिस्तानमा छ। नेपालले भोलि भदौँ १३ गते एसिया कपको पहिलो खेल पाकिस्तानसँग खेल्दै छ।
नेपाली टिमले अहिलेसम्म खेलेको प्रतियोगिता मध्येको सबैभन्दा ठूलो प्रतियोगिता मध्ये एसिया कप हो।
पछिल्लो ५–६ महिनामा नेपाली टिमले उत्कृष्ट क्रिकेट खेलिरहेका छ। र, नेपाली टिम भारत र पाकिस्तानसँग खेल्न उत्साहित छन्।
नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्का नेपाली खेलाडीले आफ्नो उत्साहलाई मैदानमा उपयोग गर्नुपर्ने बताएका छन्।
उनले नेपालको लागि एसिया कप खेल्न पाउनु ठूलो अवसर र गौरवको विषय भएको भन्दै खेलाडीले यसको भरपुर सदुपयोग गर्नु पर्ने बताए।
‘नेपाली टिम र पाकिस्तानी टिमको कन्डिसन धेरै फरक छ। नेपाल जुन अवस्थाबाट यहाँसम्म आएको छ त्यसलाई हामीले सम्मान गर्दै खेल भावनाको विकास गर्नुपर्छ,’ पारसले भने, ‘खेलमा हार–जीत हुन्छ, हामीले हाम्रो साख जोगाएर लाने हो । राम्रो क्रिकेट खेल्नुपर्छ।’
नेपालले भोलि मुल्तानमा नेपाली समयअनुसार सवा तीन बजे एकदिवसीय क्रिकेटको नम्बर १ टिम पाकिस्तानको सामाना गर्नेछ।