इपिएलमा ललितपुरको खराब प्रदर्शन, पोखरासँग ९ विकेटले पराजित

कीर्तिपुरस्थित टियू मैदानमा जारी चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल)मा डिफेन्डिङ च्याम्पियन ललिपुर प्याट्रिओट्सले खराब प्रर्दन गरेको छ। पहिलो खेलमा काठमाडौं किंग्स इलाभेनसँग ७ विकेटले पराजित भएको ललितपुर बुधबार भएको खेलमा पोखरा राइनोजसँग ९ विकेटले पराजित भयो।

लगातार तीन दिन परेको वर्षका कारण मैदान ओसिलो भएपछि ढिला सुरु भएको खेल ७ ओभरमा झारिएको थियो । पहिला ब्याटिङ गर्दै ललितपुरले दिएको ५२ रनको लक्ष्य पोखराले तीन बल बाँकी छँदै १ विकेट मात्र गुमाएर भेट्टायो।

पोखराका लागि दक्षिण अफ्रिकाका रिचर्ड लेभीले २२ बलमा ५ चौका १ छक्का प्रहार गर्दै नटआउट ३८ रन बनाए भने रित गौतमले १२ रन बनाए । ललितपुरका अज्मतुल्लाह ओमर्जाइले १ विकेट लिए।

यसअघि पहिला ब्याटिङ गरेको ललितपुरले ७ ओभरमा ६ विकेट गुमाउँदै ५१ रन मात्र बनाउन सक्यो। उसका लागि श्रीलंकन खेलाडी सन्दुन विराकोडीले सर्वाधिक १९ रन बनाउँदा नारायण जोशीले ११ र ओसादा फर्नान्डोले १० रनको योगदान दिए।

ललितपुरलाई सस्तैमा रोक्ने क्रममा नन्दन यादवले २ ओभरमा ११ रन खर्चेर ३ विकेट लिए भने विक्रम सोबले २ र केस्रिक विलियम्सले १ विकेट लिए।

यो जितसँगै २ खेलमा ३ अंक जोडेको पोखरा शीर्ष स्थानमा उक्लिएको छ। दुवै खेलमा पराजित ललितपुर अंकबिहीन हुँदै पुछारमा छ।

Facebook Comments Box