पोखरा प्रिमियर लिग : काठमाडौंसँग हार्‍यो धनगढी

पहिलो संस्करणको पोखरा प्रिमियर लिगमा हुलास काठमाडौं रोयल्सले विजयी सुरुवात गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा काठमाडौंले एक्स्पर्ट धनगढीलाई १७ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

काठमाडौंले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको धनगढीले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६३ रन मात्र बनाउन सक्यो ।

१ सय ८१ रनको ठूलो लक्ष्य पछ्याएको धनगढीको सुरुवात राम्रो हुन सकेन् । उसले ३५ रनमै ३ विकेट गुमाएको थियो । धनगढीका ओपनर डान लउरेन्स ८ र सन्दीप सुनार ११ रनमा आउट भए भने दिलिप नाथ १० रनमा आउट भएका थिए । धनगढीले चौथो विकेटका रुपमा ६१ रन बनाउँदा पिटर टेर्गोलाई व्यक्तिगत १९ रनमा गुमायो ।

त्यसपछि क्रिजमा आएका कप्तान दीपेन्द्रसिंह ऐरी र सन्दीप जोराले पाचौं विकेटका लागि ३.५ ओभरमा ३७ रनको साझेदारी गर्दै धनगढीलाई खेलमा फर्काउने प्रयास गरेका थिए । सन्दीपले अमरसिंह रौटेलाको बलमा आउट हुनु अघि ११ बलमा १ चौका र ३ छक्काको सहयोगमा २७ रन बनाए ।

त्यसपछि दिपेन्द्रले छैंठौं विकेटका लागि सौरभ खनालसँग ४.३ ओभरमा ५२ रनको साझेदारी गरेका थिए । सौरभ व्यक्तिगत १७ रन बनाएर आउट भए । सौरभ आउट भएकै अर्को बलमा कप्तान दीपेन्द्रसिंह ऐरी पनि आउट भएपछि खेल काठमाडौंको पक्षमा मोडिएको थियो । दीपेन्द्र ५४ रन बनाएर आउट भए । उनले ४२ बलमा ३ चौका र ३ छक्का प्रहार गरेका थिए ।

काठमाडौंलाई जित दिलाउन अमरसिंह रौटेला, सुसन भारी र बसन्त रेग्मीले २–२ विकेट लिए । यस्तै, गौरभ तोमर र नन्दन यादवले १–१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको काठमाडौंले गौरव टोमरको उत्कृष्ट ब्याटिङ मद्दतमा २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ८० रन बनायो । विष्फोटक ब्याटिङ गरेका तोमरले ४४ बलमा ४ चौका र १० छक्का प्रहार गर्दै ९५ रन बनाए ।

यस्तै नरेश बुढाऐर २४ बलमा ३६ रन बनाएर नटआउट रहे भने जयकिशन कोसावालले २५ तथा अमित श्रेष्ठले १२ रन बनाएका थिए । धनगढीका लागि पिटर टेर्गो, सागर ढकाल र कप्तान दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिएका थिए ।

यसअघि आजै भएको पहिलो खेलमा बुटबल ब्लास्टर्सले चितनव राइनोजलाई ७० रनले पराजित गरेको थियो । प्रतियोगिता अन्तर्गत आइतबार विराटनगर टाइटन्स र एक्स्पर्ट धनगढी भिड्ने छन् भने दोस्रो खेलमा पोखरा पल्टनले बुटबल ब्लास्टर्सको सामाना गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *