सन्दीप लामिछानेको कप्तानीमा रहेको घरेलु टिम पर्सा ११ वीरगञ्जमा जारी नेपाल प्रो क्लब च्याम्पियनसिपको फाइनलमा पुगेको छ। शुक्रबार वीरगञ्जको नारायणी रंगशालामा त्रिभुवन आर्मी क्लबलाई ३१ रनले पराजित गर्दै पर्सा उपाध नजिक पुगेको हो।

प्रतियोगितामा आर्मीको यो पहिलो पराजय हो।

पर्साले दिएको १०० रनको लक्ष्य पछ्याएको आर्मी १६।२ ओभरमा ६८ रनमै अलआउट भयो। उसका लागि कुशल मल्लले सबैभन्दा बढी १९ रन जोडे। अन्य ब्याट्सम्यानले भने गतिलो योगदान दिन सकेनन्।

आर्मीलाई सस्तैमा समेट्ने क्रममा पर्साका कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए। उनले ३।२ ओभरमा १३ रन मात्र खर्चिए। अनिल साह, पवन सर्राफ र सांसद मन्सुरीले समान २ विकेट लिए।

त्यसअघि आर्मीले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पर्सा २ बल खेल्न बाँकी छदा ९९ रनमा अलआउट भयो।

उसका लागि सांसदले १७ रन जोड्दा अनिल साह र रुपेश सिंहले १५–१५ रन तथा पवन सर्राफले ११ रन मात्र बनाए। अरु ब्याटर दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए।

बलिङमा आर्मीका सोमपाल कामीले ह्याट्रिकसहित ४ विकेट लिए भने कुशल मल्लले ३ विकेट लिन सफल भए। सोमपालले अन्तिम ओभरको दोस्रो बलमा रुपेश सिंह, तेस्रो बलमा सैफुल अन्सारी र चौथो बलमा रन्जित कुमारलाई आउट गर्दै ह्याट्रिक विकेट लिएका थिए।

पर्साले अब उपाधिका लागि नेपाल पुलिस क्लब र भारतको वन्डरस क्लब नोयडाबीचको विजेतासँग खेल्नेछ।

Back To Top