टि–२० विश्वकपका लागि अफगान टिम घोषणा लगत्तै रसिद खानले त्यागे कप्तानी

अफगानिस्तानका कप्तान रसिद खानले टि२० टिमको कप्तानको जिम्मेवारी त्याग्ने निर्णय गरेका छन्। अफगानिस्तानले उनको कप्तानीमा टि२० विश्वकपका लागि टिम घोषणा गरेको आधा घण्टा पनि नबित्दै रसिद खानले कप्तानको भूमिकाबाट राजीनामा दिएका हुन्।

अफगानिस्तान क्रिकेट बोर्ड (एसिबी) र छनोट समितिले आफ्नो सहमति बिना टि२० विश्वकपका लागि खेलाडी छनोट गरेको भन्दै उनले राजिनामा दिएका हुन्। कप्तानका रुपमा टिम छनोटमा आफ्नो पनि अधिकार हुने र भूमिका रहनुपर्ने बताउँदै उनले ट्विटरमार्फत् कप्तानी छाडेको घोषणा गरेका छन्।

‘कप्तान र राष्ट्रप्रति जिम्मेवार व्यक्तिका रुपमा टिम छनोटमा संलग्न हुने मेरो अधिकार छ। तर, एसिबी मिडियाले घोषणा गरेको टिमको छनोटमा बोर्ड तथा छनोट समिति कसैले पनि मेरो सहमति लिएका छैनन्,‘ उनले लेखेका छन्, ‘त्यसैले तत्काल लागू हुनेगरि अफगानिस्तानको टि२० कप्तानबाट राजीनामा दिएको घोषणा गर्दछु। अफगानिस्तानका लागि म सधैं गर्वका साथ खेल्नेछु।’

अफगानिस्तान क्रिकेट बोर्डले ट्विटरमा बिहीबार राति १० : ३४ बजे रसिद खानको कप्तानीमा टि२० विश्वकपका लागि १८ सदस्यीय टिम घोषणा गरेको थियो। र, रसिद खानले राति १० : ५६ मा कप्तानको भूमिकाबाट राजीनामा दिएको घोषणा गरेका हुन्।

Facebook Comments Box