एसिया कप क्रिकेटमा भारत र पाकिस्तानजस्ता ठूला टिमसँग बहादुरीपूर्ण खेल प्रदर्शन गरेर नेपाली क्रिकेट टिम बुधबार स्वदेश फर्किएको छ। बुधबार दिउँसो श्रीलंकाबाट काठमाडौं आइपुगेको नेपाली टिमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको थियो।
विमानस्थलमा पत्रकाहरुसँग कुरा गर्दै राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले अब पूर्वाधारमा लगानी गर्नुपर्ने बताउँदै तयसको विकल्प नभएको उल्लेख गरे।
अब चाहिँ हाई टाइम भइ सक्यो, इन्फ्रास्ट्रक्चरमा इन्भेस्ट लगानी गर्नुपर्छ। जहिल्यै पनि ती कुराहरुमा संघर्ष गरिरहेका हुन्थ्यौँ हामी। एउटै विकेट छ त्यसैमा सबै जनाले तयारी गरिरहनु परेको छ,’ विमानस्थलमा पत्रकारहरुलाई प्रतिक्रिया दिँदै उनले भने, ‘डोमेस्टिक स्ट्रक्चर छैन केही पनि। प्रत्येक प्रदेशमा ग्राउन्ड खासगरी पिचहरु भयो भने तयारी गर्न सकिन्छ।’
एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग खेलेको थियो । पाकिस्तानसँग नेपालले उद्घाटन खेल मुल्तानमा खेलेको थियो। एकदिवसीय क्रिकेटको नम्बर एक टिम पाकिस्तानसँग नेपालले राम्रो बलिङ प्रदर्शन गरेको थियो। सो खेलमा नेपाल २३८ रनले पराजित भएको थियो।
भारतसँग सोमबार श्रीलंकामा भएको खेलमा नेपाली खेलाडी उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेका थिए। भारतविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दैै ४८.२ ओभरमा अलआउट हुँदै २३० रन बनाएको थियो। नेपालका लागि आसिफ सेख ५८ र सोमपाल कामीले ४८ रन बनाएका थिए। वर्षाले प्रभावित बनेको खेल नेपालले १० विकेटले हारेको थियो।
यो खेलबाट नेपालले धेरै कुरा सिक्न सकेको उनले बताए। विशेष गरी भारतसंग नेपालको खेलबाट आफू धेरै खुुसी भएको बताए।
विश्वका उत्कृष्ट बलरहरुलाई सामना गर्न नेपाली टोली सफल हुनु नै ठुलो कुरा भएको उनले बताए।