रोहितको अर्धशतकमा मलेसियाविरुद्ध नेपालको सहज जित

युवा ब्याट्सम्यान रोहितकुमार पौडेलले अर्धशतकीय इनिङ खेलेपछि नेपाल भ्रमणमा रहेको मलेसियन टिमविरुद्ध क्यान–११ ले सहज जित निकालेको छ । बिहीबार पोखरा रंगशालामा भएको खेलमा नेपाली टिम क्यान ११ ले मलेसियाविरुद्ध ५ विकेटको सहज जित निकालेको हो ।

मलेसियन टिम सुनसरीमा भएको एमएम कप एकदिवसीय क्रिकेट खेल्ने नेपाल आएको थियो । सोही अवसरमा विश्वकप क्रिकेट लिग–२ को तयारीमा रहेको नेपाली टिमले मलेसियासँग ३ एकदिवसीय खेल खेलेको हो ।

क्यान ११ ले यसअघिका २ खेलमा पनि सहज जित हात पारेको थियो । पहिलो खेलमा नेपाल ३४ रनको जित निकाले थियो भने दोस्रो खेलमा १७२ रनको फराकिलो जित निकालेको थियो ।

बिहीकार पोखरा रंगशालामा मलेसियाले दिएको १५८ रनको लक्ष्य नेपालले २३.५ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो । नेपाललाई सहज जित दिलाउने क्रममा रोहितकुमार पौडेलले ८१ रनको आकर्षक इनिङ खेले । उनले ७० बल खेल्दै ८ चौका र ४ छक्का प्रहार गरे ।

नेपालले सुरुवात भने खराब गरेको थियो । ओपनर सुनिल धमला ५ रनमा आउट हुँदा अर्का ओपनर कुशल भुर्तेलले खाता खोल्न सकेनन् । कप्तान दीपेन्द्र सिंह ऐरीले २४ बलमा ५ चौका र १ छक्का सहित २८, लोकेश बमले २६ रन बनाए । मलेसियाका विजय उन्नीले २, देबेन्द्र मोगन, मोहम्मद हफिज र अनवार रहमानले १–१ विकेट लिए ।

टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले ४३.५ ओभरमा अलआउट हुँदै १५७ रन मात्र बनाउन सक्यो । उसका लागि ओपनर भुषण सेभले सर्वाधिक ३० रन बनाए भने देवेन्द्र मोगनले २८, शार्बिन मुनियन्डी २२, मोहम्मद आरिफ १७ र सैद अजिजले १५ रन बनाए ।

नेपालका अभिनाष बोहराले सर्वाधिक ३ विकेट लिए भने लेगस्पिनर ललितनारायण राजवंशी र कुशल मल्लले समान २ विकेट लिए भने किशोर महतो र कमल सिंह ऐरीले १–१ विकेट लिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.