वेस्टइन्डज जानुअघि सन्दीपले भने– प्लेनको टुंगो नलाग्दा कैयौँ रात निदाउन सकिनँ

नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्नका लागि बिहीबार वेस्टइन्डिज प्रस्थान गरेका छन् । सन्दीप कोरियन चार्टर्ड फ्लाइटमार्फत दक्षिण कोरिया, अमेरिका हुँदै वेस्टइन्डिजको ट्रिनिडाड एण्ड टोबागो प्रस्थान गरेका हुन् ।

लामो अन्योलपछि सन्दीपको ट्रिनिडाडको यात्राको टुंगो लागेको थियो । कोरोना भाइरसका कारण नेपालमा हवाई उडान बन्द रहेका कारण सन्दीपको सिपिएल सहभागीता अन्योलमा परेको थियो । युवा तथा खेलकुद मन्त्रलाय, संस्तकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलगायतको पहलमा चार्टर्ड फ्लाइटमार्फत सन्दीप वेस्टइन्डिज जाने बुधबार तय भएको थियो ।

तेस्रो पटक सिपिएलमा सहभागी हुन जानु अघि सन्दीपले लामो लकडाउन र अन्योलबीच सिपिएल खेल्ने पाउँदा उत्साहित भएका बताएका छन् । सन्दीपले भनेका छन्, ‘हिजोसम्म सिपिएल खेल्न पाइन्छ कि पाइन्न भन्ने दुविधा थियो । चार्टर्ड फ्लाइटको टुंगो लागेपछि आज त्यता जाँदैछु । अब सिपिएल खेल्न उत्साहित छु ।’

कोरोना भाइरसका कारण वेस्टइन्डिजा जान जहाजको टुंगो नलाग्दा आफू कैयौं रात अनिधै बसेको सन्दीपले बताएका छन् । ‘सिपिएल खेल्न पाइँदैन भन्ने थियो, त्यसले केही तनाव भने भयो । जहाजको टुंगो नलाग्दा धेरै रात निदाउन सकिनँ’, सन्दीले भने, ‘जे होस वेस्टइन्डिज जान पाइयो, अब खेल्ने पाइनेमा ढुक्क छु ।’

अगस्त १८ देखि सेप्टेम्बर १० सम्म ट्रिनिडाड एण्ड टोबागोमा सिपिएलमा सन्दीप जमैका तलैवासमा आबद्ध छन् । अललाइनमार्फत गरिएको ड्राफ्टबाट सन्दीपलाई जमैकाले ९० हजार अमेरिकी डलमा किन्यो । सन्दीपले मागेकै मूल्यमा जमैकाले सन्दीपलाई किनेको थियो ।

‘पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालयलगायतको सहयोगले सन्दीप खेल्न जाने टुंगो लागेको हो’, सन्दीपको यात्रा सुनिश्चित गराउनमा दिनरात खटेका सदीन्पका व्यवस्थापक रमन शिवाकोटीले भने, ‘हाम्रो व्यक्तिगत प्रयासले सिपिएल खेल्न पाउने सम्भावना थिएन । सहयोग गर्नै सबैलाई धन्यवाद ।’ सन्दीपको हवाई उडानका लागि केही खेलप्रेमीको रातदिनको दौडधूप सम्झिन लायक रहेको उनको भनाइ थियो ।

आइतबार ट्रिनिडाड एण्ड टोबागो पुगेपछि सन्दीप १४ दिन आइसोलेसनमा बस्नेछन् र कोरोना परीक्षण गरेर रिपोर्ट नेभेटिभ आएपछि टिममा सामेल हुने छन् । सिपिएलमा सहभागी विदेशी खेलाडीले अनिवर्या रुपमा १४ दिन आइसोलेसनमा बस्नु पर्ने छ । सोही अनुसार आयोजकले विदेशी खेलाडीलाई १ अगस्तभित्र ट्रिनिडाड आइपुग्न भनेको छ ।

सन्दीपको यो सिपिएलमा तेस्रो सहभागीता हो । पहिलो सिजन सन्दीपले सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सबाट खेलेका थिए भने दोस्रो सिजनमा उनी बार्बादोस ट्राइडेन्समा आबद्ध थिए । जमैकाको नेतृत्व स्टार अलराउन्डर आन्द्रे रसेलले गर्ने छन् । जमैकामा रसेलको अलावा कार्लोस ब्रेथवेट, चेटविक वाल्टन, तब्रिज साम्सी, आसिफ अली ओसाने थोमसलगायत खेलाडी छन् ।

सिपिएल वेस्टइन्डिजका विभिन्न देशमा हुँदै आएको सिपिएल कोरोना भाइरसका कारण यो पटक ट्रिनिडाड एण्ड टोबागोमा मात्र हुने छ । प्रतियोतिगामा अगस्त १८ देखि सेप्टेम्बर १० सम्म हुने छ । सिपिएलमा जमैकासँगै साविक विजेता बार्बाडोस ट्राइडेन्ट्स, ट्रिनबागो नाइट राइडर्स, गुएना अमेजान वारियर्स, सेन्ट लुसिया जुक्स र सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सले प्रतिस्पर्धा गर्नेछन् ।

सन्दीपआबद्ध जमैकाको पहिलो खेल अगस्त १९ मा सेन्ट लुसिया जुक्ससँग खेल्ने छ भने दोस्रो खेल ट्रिनबागो नाइट राइडर्ससँग २० अगस्तमा खेल्ने छ ।

सिपिएल खेलिसेपछि सन्दीप उतैबाट आईपिएल खेल्नका लागि युएई जाने कार्यक्रम छ । कोरोना महामारीका कारण यसपटक आईपीएलको १३औँ संस्करण असोज पहिलो सातादेखि युएईमा हुँदैछ । सन्दीप आईपिएलमा दिल्ली क्यापिटल्समा आबद्ध छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *