कीर्तिपुर मैदानमा सचिन

‘जीवनमा तपाईं जति नै सफल हुनुहोस्, त्यसले अर्थ राख्दैन । तपाईं असल व्यक्ति हुनुहुन्छ भने त्यसले अर्थ राख्नेछ । सधैँ सहयोग गर्न तयार हुनुहोस्, अरूको अनुहारमा मुस्कान ल्याउने कारण बन्ने प्रयास गर्नुहोस् ।’ यही सन्देशसँगै भारतीय चर्चित क्रिकेटर सचिन तेन्दुलकरले शनिबार कीर्तिपुर मैदानमा आफ्नो भनाइ अन्त्य गरे ।

सामान्य चर्चाबीच शुक्रबार नेपाल आइपुगेका तेन्दुलकर शनिबार कीर्तिपुर मैदान पुगे । काठमाडौंका केही सरकारी विद्यालयबाट छनोट भएका बालबालिकासँग तेन्दुलकरले झन्डै दुई घन्टा (आठ–आठ ओभरको) क्रिकेट खेले । नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान विनोद दासले कप्तानी गरेको रातो टोलीविरुद्ध उनले कप्तानी गरेको निलो टोली नौ विकेटले विजयी भयो । उनले आफ्नो टोलीलाई विजयी बनाउन बलिङ, ब्याटिङ र फिल्डिङ गरे ।

अन्तर्राष्ट्रिय क्रिकेटमा दर्जनभन्दा बढी कीर्तिमान आफ्नो नाममा लेखाएका यी क्रिकेटरलाई पहिलोपटक प्रत्यक्ष देख्दा कीर्तिपुर मैदानमा उपस्थित समर्थक हर्षित थिए । उनी मैदानमा रहुन्जेल उपस्थित दर्शकबाट हुटिङको साथ पाइरहे । उनले मैदानभित्र रहँदा बालबालिकालाई क्रिकेट खेल्न मात्रै सिकाएनन्, उनीहरूलाई खेलप्रति प्रोत्साहित गर्ने प्रयास पनि गरिरहे । नेपाली महिला राष्ट्रिय टोलीका खेलाडीलाई छुट्टै भेटेर हौसला प्रदान गर्ने प्रयास गरे ।

‘जित कसैका लागि पनि निश्चित छैन । जो नडराई खेल्छ, आफूले गर्न चाहेको काम निडर भएर गर्छ, जित उसकै निश्चित हुन्छ,’ महिला टोलीलाई तेन्दुलकरको सन्देश थियो, ‘त्यसैले तपाईंहरू पनि देशका लागि खेल्दा जे गर्न चाहनुहुन्छ, नडराई गर्नुहोस् । मुस्किल समयमा सबै सँगै बसेर समस्याको समाधान खोज्ने प्रयास गर्नुहोस् । एकअर्काको साथ खोज्नुहोस्, सफलता मिल्नेछ ।’

तेन्दुलकरले सफलताको अर्काे सूत्र पनि सुनाए । ‘यदि तपाईंले रन हान्नुहुन्छ भने सबैको साथ पाउनुहुनेछ । जुन दिन रन हान्नुहुन्न, त्यसवेला सबैले तपाईंको साथ छाड्नेछन् । तपाईंको तीव्र आलोचना हुनेछ,’ तेन्दुलकरको भनाइ थियो, ‘आलोचना सकारात्मक छ भने त्यसलाई ग्रहण गर्नुपर्दछ । तर, त्योभन्दा बढी आफ्नो समस्याको समाधान खोज्न केन्द्रित हुनुपर्नेछ । तपाईं जब समस्याबाट माथि उठ्नुहुनेछ, फेरि समर्थक तपाईंको पछाडि आउनेछन् ।’

उनले कीर्तिपुर मैदानमा खेलभन्दा बढी बालबालिकाको अधिकारको पक्षमा बोले । बालबालिकाको क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय संस्था युनिसेफका सद्भाव दूत तेन्दुलकर सोही उद्देश्यका लागि नेपाल आएका हुन् । संयुक्त राष्ट्रसंघले बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको ३० वर्ष पुगेको उपलक्ष्यमा युनिसेफले तेन्दुलकरलाई नेपाल बोलाएको हो ।

‘बालबालिकाले गल्ती गरे भनेर कहिल्यै गाली नगर्नुहोस्, उनीहरूको गल्ती सुधार्ने जिम्मेवारी अभिभावकको हो,’ तेन्दुलकरले भने, ‘गल्ती सुधार्ने सहज तरिका खोज्नुपर्दछ । पिटेर वा गाली गरेर भन्दा अन्य तरिकाबाट बालबालिकालाई सिकाउने प्रयास गर्नुपर्दछ ।’ तेन्दुलकरले बालबालिकालाई आफ्नो इच्छाअनुसार अघि बढ्न दिनुपर्ने सन्देश नेपाली अभिभावकलाई दिए ।

‘मेरो छोरा पनि अहिले क्रिकेट खेल्दै छ । तर, मैले उनलाई कहिल्यै क्रिकेट खेल्नुपर्छ भनेर जोड गरिनँ, न मलाई मेरा अभिभावकले त्यसो गर्नुभएको थियो,’ तेन्दुलकरले आफ्नो अनुभव सुनाउँदै भने, ‘नेपाली अभिभावकलाई मेरो सन्देश पनि त्यही हुनेछ कि, तपाईंहरू पनि आफ्ना नानीहरूको इच्छाअनुसार अघि बढ्न सहयोग गर्नुहोला ।’

(नयाँ पत्रिका)

Leave a Reply

Your email address will not be published. Required fields are marked *