सगरमाथा क्रिकेट क्लबले अष्ट्रेलियामा रच्यो इतिहास

अष्ट्रेलियामा जारी लेस केम्प शिल्ड २०१८/१९ को उपाधि जित्दै सगरमाथा क्रिकेट क्लब (एससिसी)ले इतिहास रचेको छ । प्रतियोगितामा केबल दोस्रो पटक सहभागी भएको एससिसीले फाइनलमा आइभनहो मेभेरिक्सलाई पराजित गर्दै च्याम्पियन बन्न सफल भयो । उपाधि जितेसँगै एससिसी अष्ट्रेलियाको भिक्टोरिया राज्यमा ग्रेड लेभलको प्रतियोगिताको उपाधि जित्ने पहिलो नेपाली क्लब बनेको छ ।

होम एण्ड अवे गरि दुई लेगमा खेलाइएको लिग चरणमा आइभनहो पहिलो र एससिसी दोस्रो हुँदै सेमिफाइनल प्रवेश गरेका थिए । सेमिफाइनलमा सहज जित हात पार्दै फाइनल प्रवेश गरेका दुवै टिमबिचको उपाधि भिडन्त रोमान्चक हुने विश्वास गरिएको थियो । लिग चरणमा दुईपटक आमनेसामने हुँदा दुवै टिमले १–१ जित निकालेका कारण पनि उनीहरुको प्रतिस्पर्धा रोचक हुने अपेक्षा गरिएको थियो । र, दुवै टिमले फाइनल हेर्न जम्मा भएका दर्शकलाई निराश बनाएनन् पनि ।

प्रतियोगिताभर हरेक विपक्षीविरुद्ध विशाल स्कोर खडा गर्न सफल आइभनहोलाई एससिसीका कप्तान कुशल तुलाधरले टस जितेर ब्याटिङको निम्ता दिनु आफैमा बहादुरीपूर्ण निर्णय थियो । तर, उनले आफ्नो टिमप्रति देखाएको विश्वासमा सबै खेलाडी खरो उत्रिए ।

उपकप्तान आशिषले डीपमा उत्कृष्ट फिल्डीङ गर्दै विपक्षलाई रन चोर्न दिएनन् भने अभिनासले डिरेक्ट हिटमा रनआउट गर्दै दोस्रो ओभरमै एससिसीलाई पहिलो सफलता दिलाए । तर, त्यसपछि भने एससिसीका खेलाडीले थुप्रै क्याच मिस गरेपछि आइभनहोका खेलाडीले राम्रो साझेदारी गर्दै केबल दुई विकेट गुमाएर ११७ रन जोड्न सफल भए ।

तर, कप्तान तुलाधरले लगातार दुई बलमा दुई विकेट लिँदै अन्य ४ ब्याट्सम्यानलाई पनि पभेलियन फर्काएपछि एससिसी फेरी खेलमा फर्कियो । अन्य बलरले पनि लाइन र लेङ्थमा बलिङ गरेपछि आइभनहोले ८ विकेट गुमाउँदा १६८ रनमात्र बनाउन सकेको थियो ।

तर, फेरि पनि खराब फिल्डिङ गरेपछि आइभनहोका खेलाडीले नवौं विकेटका लागि ४९ रनको साझेदारी गर्दै २३० रनको सम्मानजनक स्कोर बनायो । एससिसीका लागि कप्तान तुलाधरले ६ विकेट लिए भने सान जे केन्डीले २ तथा अभिनासले १ विकेट लिएका थिए ।

२३१ रनको लक्ष्य लिएर मैदान ओर्लिएको एससिसीका ओपनर प्रेमराज उप्रेती १६ रन बनाएर आउट भएपछि असिम सुवेदी र रसिम कडेलले दास्रो विकेटका लागि महत्वपूर्ण साझेदारी गर्दै इनिङ सम्हालेका थिए । रसिम आउट भएपछि असिमले अभिनाससँग साझेदारी गर्दै एससिसीलाई जिततर्फ अग्रसर गराए ।

तर, आइभनहोका बलरले ३ ब्याट्सम्यानलाई सस्तैमा पभेलियन फर्काएपछि एससिसीको इनिङ फेरी धराशायी भयो । जितका लागि एससिसीलाई १२० रन आवश्यक हुँदा ५ विकेट बाँकि थियो भने क्रिजमा भएका दुवै ब्याट्सम्यान दीपेन र आशिष नयाँ थिए ।

तर, युवा खेलाडी भएपनि आत्मविश्वासका साथ ब्याटिङ गरेका दुवै खेलाडीले अर्धशतकीय इनिङ खेले । प्रतियोगितामा यसअघि नटआउट १९५ रन बनाएका आशिषले सम्हालिएर अर्धशतक बनाए भने दीपेनले पनि आफ्नो अर्धशतक पुरा गरेपछि एससिसी ६ विकेट बाँकी छँदै ५ विकेटले विजयी भयो । ६ विकेट लिँदै जितमा महत्वपूर्ण भूमिका खेलेका कप्तान कुशल तुलाधर म्यान अफ द म्याच घोषित भएका थिए ।

सन् १९७८ बाट सुरु भएको प्रतिष्ठित प्रतियोगिता लेस केम्प शिल्ड मात्र होइन भिक्टोरिया राज्यको कुनैपनि ग्रेड च्याम्पियनसिप जित्ने पहिलो नेपाली टिमका रुपमा इतिहास बनाउन सफल सगरमाथा क्रिकेट क्लबका खेलाडी व्यक्तिगत रुपमा पनि प्रतियोगितामा उत्कृष्ट हुन सफल भएका थिए ।

उपकप्तान आशिष प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडी बने भने अभिनास दोस्रो र कप्तान कुशल नवौं स्थानमा परे । यस्तै, ४० विकेट लिएका सान जे केन्डी सर्वाधिक विकेट लिने खेलाडी बने भने ३८ विकेट लिएका कुशल तुलाधर दोस्रो स्थानमा रहे । अभिनास पौडेल र नवीन श्रेष्ठ क्रमशः पाँचौ र ११औं बने ।

टिम र खेलाडीको उत्साह बढाउन मैदानमा उपस्थित दर्शकलाई धन्यवाद दिँदै च्याम्पियन टिमका कप्तान कुशल र कोच असिम सुवेदीले यो जित सगरमाथा क्रिकेट क्लबको मात्र नभएर सबै नेपालीको भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *