मेलबर्नका प्रशिक्षक डेविड हसी भन्छन्, सन्दीपविना उपाधि यात्रा कठीन हुनेछ

अस्ट्रेलियामा जारी बिग बास लिगलाई बीचमै छाडेर नेपाली युवा लेगस्पिनर सन्दीप लामिछाने सोमबार नेपाल फर्कँदैछन् । मेलबर्नका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका सन्दीप नेपाल आउने भएपछि मुख्य प्रशिक्षक उनको टिमका लागि ठूलो घाट हुने बताएका छन् ।

मेलबर्न स्टार्सबाट लागतार दोस्रो सिजन बिग बास लिग खेलेका सन्दीप विश्वकप क्रिकट लिग–२अन्तर्गतको अमेरिका र ओमानसँगको त्रिकोणात्मक सिरिज खेल्न नेपाल आउन लागेका हुन् ।

सन्दीपलाई बिग बासबाट गुमाउँदै मेलबर्नका मुख्य प्रशिक्षक डेबिड हसी भने दुःखी भएका छन् । सन्दीप राष्ट्रिय टिमबाट खेल्न नेपाल आउने पक्का भएपछि प्रशिक्षक हसीले मेबलर्नलाई ठूलो घाटा भएको बताएका छन् ।

क्रिकेट अस्ट्रेलियासँग कुरा गर्दै हसीले भनेका छन्, ‘सन्दीप हाम्रो बलिङका मुख्य हतियार हुन् । उनले बाँकी खेल खेल्दैनन्, त्यसले मलाई चिन्तित बनाएको छ । किनभने उनको अनुपस्थित हाम्रो लागि महँगो पर्नसक्छ ।’

‘एउटा उत्कृष्ट खेलाडी गुमाउँदा दुःखी छु । तर, उनी राष्ट्रिय टिमबाट खेल्न जाँदै छन्, त्यो हाम्रा लागि पनि खुसीको कुरा हो,’ हसीले भने, ‘टिमसँगै पछिल्ला २ सिजन सन्दीपले बिग बासमा उत्कृष्ट प्रदर्शन गरे । उनी बाँकी खेलमा हामीसँग नहुनु हाम्रा लागि दुःखद् हो ।’

सन्दीप बिग बासमा मेलबर्नका सार्वधिक विकेट लिने खेलाडी हुन् । उनले १३ खेलमा १५ विकेट लिएका छन् । यो सिजनको आफ्नो अन्तिम खेलमा सन्दीपले ब्रिस्बन हेटविरुद्ध ४ ओभरमा १६ रन खर्चेर १ विकेट लिएका थिए । यो सन्दीपको फ्रेन्चाइज लिगमा सर्वाधिक विकेट पनि हो ।

प्रशिक्षक हसीले आफूले सँधैँ स्पिनलाई प्राथमिकता राखेको बताएका छन् । र, यस पटक बिग बासमा स्पिनलाई विशेष महत्व दिएको उनले बताएका छन् । ‘मेरो योजना अनुसार नै स्पिनरले उत्कृष्ट प्रदर्शन गरेका छन्, त्यसमा सन्दीपको भूमिका अह्म रह्यो । उनी मेलबर्नका स्पिनका मुख्य हतियार हुन्, उनैलाई केन्द्रमा राखेर हामीले योजना बनाएका थियौं ।’

अस्ट्रेलियाका पूर्वक्रिकेटर समेत रहेका हसीले सन्दीप एक उत्कृष्ट खेलाडी भएको पनि बताए । र, उनले सन्दीप एक राम्रा मानिस भएको बताए । अब सन्दीपको स्थानमा पाकिस्तानका दिल्बर हुसेनले लिने छन् । उनले ब्रिस्बन हेटविरुद्ध नै मेबलर्नका लागि डेब्यू गरेका छन् ।

सन्दीपसँगै मेलबर्नले स्टार ब्याट्सम्यान पिटर ह्यान्डसकोम्बलाई पनि गुमाएको छ । हातमा चोट लागेका कारण ह्यान्ड्सकोम्बले बिग बासका बाँकी खेल गुमाएका हुन् ।

दुई स्टार खेलाडी गुमाएको मेबलर्नका लागि ह्यारिस रउफको पुनरागमनले भने केही राहत दिएको छ । बंगलादेशविरुद्धको टि–२० सिरिजका पहिलो पटक टिममा बोलाइएपछि रउफ बिग बास छाड्दै पाकिस्तान लागेका थिए । सोमबार हुने अन्तिम खेलपछि रउफ पुनः अस्ट्रेलिया जाने छन् ।

मेलबर्नले लिगका १४ खेल मध्ये १० खेल जित्दै शीर्ष स्थानमा रहँदै क्वालिफायरमा पुगेको छ । पछिल्ला तीन खेलमा भने मेलबर्न लगातार पराजित भएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.