सन्दीपको उत्कृष्ट प्रदर्शनमा लाहोरको रोमाञ्चक जित

पाकिस्तान सुपर लिगको डेब्यू खेलमा नेपाली युवा लेगस्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेपछि उनको टिम लाहोर कलन्दर्सले रोमाञ्चक जित निकालेको छ ।

शुक्रबार साँझ दुबईमा भएको मुल्तान सुल्तान्सविरुद्ध लाहोरले २०१ रनको विशाल लक्ष्य पछ्याउँदै ६ विकेटको रोमाञ्चक जित निकाल्यो । यो जितसँगै ४ अंकका साथ लाहोर तेस्रो स्थानमा उक्लिएको छ । प्रतियोगितामा ३ खेलमा ३ जित निकालेको क्वेता ग्लाडियटर्स ६ अंकका साथ शीर्ष स्थानमा छ । ४ अंक नै जोडेको पेशावर जल्मी दोस्रो स्थानमा छ ।

पाकिस्तान सुपर लिगमा २०१ रन लक्ष्य पछ्याएका कुनैपनि टिम पराजित भएका छैनन् । २०१ रनको लक्ष्य पिएसएलमा तीन पटक चेज भएका छन् ।

विस्फोटक सुरुवात गरेको मुल्तानका सुरुवाती ३ विकेट लिँदै सन्दीपले आफ्नो डेब्यूलाई सानदार बनाए । सन्दीपले जेम्स भिन्स, कप्तान सोएब मल्लिक र आन्द्रे रसेलको विकेट लिएका थिए ।

सन्दीपले आफ्नो दोस्रो ओभरको पाचौं बलमा भिन्सलाई व्यक्तिगत ८४ रनमा, मल्लिकलाई तेस्रो ओभरको अन्तिम बलमा १० रनमा र रसेललाई अन्तिम ओभरका तेस्रो बल ७ रनमा कट एण्ड बोल्ड गरेका थिए । सन्दीपले ४ ओभरमा ४६ रन खर्चिए ।

२०१ रनको लक्ष्य पछ्याउने क्रममा लाहोरका फखर जमान र एब डी भिलियर्सले अर्धशतकीय योगदान दिए । ओपनिङमा आएका फखरले ६३ रन बनाए भने भिलियर्सले ५२ रन बनाए । फखरले ३७ बलमा ७ चौका र ३ छक्का प्रहार गरे भने भिलियर्सले २९ बलमा समान ३ चौका र छक्का प्रहार गरे ।

यस्तै डेभिड वाइसले २० बलमा ५ छक्का प्रहार गर्दै ४५ रन बनाए भने सलमान बटले १७ र सोहिल अख्तरले १० रनको योगदान दिए । मुल्तानका जुनेइद खानले ३ विेकेट लिए भने र महोम्मद इल्यासले १ विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मुल्तान सुल्तान्सले उत्कृष्ट ब्याटिङ गर्दै २ सय रन बनायो । उसलाई पहिलो विकेटका लागि जेम्म भिन्स र उमर सिद्धिकले १३५ रनको साझेदारी उत्कृष्ट सुरुवात दिलाए । भिन्सले ४१ बलमा ७ चौका र ६ छक्का प्रहार गर्दै ८४ रन बनाए भने सिद्धिकीले ३८ बलमा ५२ रन बनाए । यस्तै डान क्रिस्टियनले २१ तथा सोएब मल्लिकले १० रन बनाए ।

लाहोरका लागि सन्दीपले सार्वाधिक ३ विकेट लिए भने शाहिन शाह अफ्रिदी र ह्यारिस रउफले १–१ विकेट लिए ।

लाहोर कलन्दर्सले पाचौं खेलमा आज शीर्ष स्थानमा रहेको क्वेता ग्लाडियर्टससँग खेल्ने छ । खेल नेपाली समयअनुसार साँझा ५ः१५ बजे सुरु हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP