नेपाली क्रिकेटरद्वय लेगस्पिनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले क्यानडामा आयोजना हुने ग्लोबल टि–२० लिग खेल्ने भएका छन्।
प्रतियोगिताका लागि मंगलबार भएको ड्राफ्टबाट सन्दीपलाई सुर्रे जाग्वार्स र दीपेन्द्रलाई मोन्टरियल टाइगर्सले अनुबन्ध छ।
यो ग्लोबल टि–२० लिगको तेस्रो संस्करण हो । यसअघि सन् २०१८ र १९मा यसका दुई संस्करण भएका थिए । सन्दीपले यसअघिका दुवै संस्करण खेलेका थिए भने दीपेन्द्र पहिलो पटक प्रतियोगिताका लािग छनोट भएका हुन्। यो उनको पहिलो विदेशी फ्रेन्चाइज यात्रा हो। सन् २०१९मा सोमपाल कामीले पनि यो प्रतियोगिता खेलेका थिए ।
सन्दीपले पहिलो संस्करणमा मोन्टरियल टाइगर्स र दोस्रो संस्करणमा टोरन्टो नेशनल्सबाट खेलेका थिए। सन् २०१९ मा सोमपालले विन्नीपेग हकका लागि खेलेका थिए ।
सन्दीपको टिममा एलेक्स हेल्स, इफ्तिकर अहमद, जासोन बेरनडोफ, मोहम्मद ह्यारिस लिटोन दास, आयान खानजस्ता खेलाडी छन् भने प्रतियोगिताका लागि दीपेन्द्रको टिमले सकिब अल हसन, आन्द्रे रसेल, क्रिस लिन, कार्लोस ब्रेथवेटलगायतलाई अनुबन्धन गरेको छ।
दीपेन्द्रले पहिलोपल्ट विदेशी फ्रेन्चाइज लिग खेल्न लागेका हुन् । यसअघि नेपालका सन्दीप र सोमपालसहित पारस खड्का, कुशल मल्ल र करण केसीले विभिन्न विदेशी लिग खेलिसकेका छन्।
५ टिम सहभागी प्रतियोगिता जुलाई २० देखि अगस्ट ६ सम्म आयोजना हुने छ। सन्दीप र दीपेन्द्र दुवै विश्वकप छनोट खेल्न जिम्बाबमा रहेकाले उनीहरु ग्लोबल टि–२० लिगका केही खेल भने गुमाउने छन्।