क्रिकेटराष्ट्रिय क्रिकेट

सोमबार सन्दीप र मोन्टी देसाई सँगै दक्षिण अफ्रिका जाने सम्भावना

मुद्दाको फौसलामा अदालतले ढिलाई गर्दा राष्ट्रिय टिमसँगै दक्षिण अफ्रिका जान नपाएका क्रिकेटर सन्दीप लामिछाने सोमबार त्यता जाने सम्भावना छ।

सन्दीप फर्किएपछि मात्र मुद्दाको फैसला गर्न माग गर्दै काठमाडौं जिल्ला अदालतमा आइतबार ‘फस्ट आवर’मै निवदेश दिने तयारी गरेकाले उनी सोमबार दक्षिण अफ्रिका जाने सम्भावना रहेको सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले बताए।

निरन्तर मुद्दाको सुनुवाइ प्रक्रिया ढिला भएकाले सुनुवाइ कुर्दा राष्ट्रिय टिममा सन्दीपको अभाव हुने र समग्र राष्ट्रको नै विश्वकप खेल्ने सपनामा नै असर पर्न सक्ने भएकाले सन्दीपलाई दक्षिण अफ्रिका र जिम्बाब्वेको भ्रमणमा पठाउन अदालतसमक्ष अनुरोध गर्ने उनले बताए।

सन्दीपको मुद्दाको पेशी आइतबारका लागि पेसी तोकिएको छ। आइतबार फाइनल बहस हुने सम्भावना कमजोर रहेकाले सन्दीपका कानुन व्यवसायिले उनी आएपछि मात्र फाइनल सुनुवाईको प्रकृया अघि बढाउन अदालतसक्षम आग्रह गर्न लागेको उनले बताए। सन्दीपलाई यसअघिनै सर्वोच्चले विदेश खेल्न जानका लागि अनुमति दिएको छ।

यता, मुख्य प्रशिक्षक मोन्टी देसाई भने भीस नआउँदा टिमसँगै दक्षिण अफ्रिका जान पाएका थिएनन्। सन्दीप र देसाई सोमबारसँगै दक्षिण अफ्रिका जाने सम्भावना रहेको क्यान स्रोतले जनाएको छ।

नेपाली टिम अहिले दक्षिण अफ्रिकामा प्रशिक्षण गरिरहेको छ। शुक्रबारबाट नेपाली टिमले प्रशिक्षण थालेको हो। त्यहाँ नेपालले नेदरल्यान्ड्स र स्कटल्यान्डसँग अभ्यास खेल खेल्ने तालिका छ।