टि–१० लिगमा पारस र सन्दीप आज दोस्रो खेल खेल्दै

युएईको अबुधाबीमा जारी टि–१० लिगमा आज नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का र युवा लेगस्पिनर सन्दीप लामिछाने आफ्नो दोस्रो खेल खल्दै छन् । टि–१० लिगमा पारस टिम अबुधाबीमा आबद्ध छन् भने सन्दीप कर्नाटक टुस्कर्समा छन् ।

आइतबार साँझ ५ः१५ मा अबुधाबीस्थित जायद रंगशालामा हुने खेलम पारसको टिम अबुधाबीले नर्दन वारियर्सको सामना गर्ने छ भने सन्दीपको टिम कर्नाटकले राति ७ः३० बजे बंगाल टाइगर्ससँग खेल्दै छ ।

पारसको टिम अबुधाबी प्रतियोगितामा पहिलो जितको खोजीमा हुने छ । पहिलो खेलमा अबुधाबीले कलन्दर्ससँग बराबरी खेलेको थियो । अबुधाबीले दिएको १०४ रनको लक्ष्य पछ्यएको कलन्दर्सले पनि १०३ रन मात्र बनाउन सकेपछि खेल टाइ भएको थियो । नर्दन वारियर्सले भने १ जित र १ हारको सामना गरेको छ ।

सोही खेलमार्फत नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय फ्रन्चाइज लिगमा डेब्यू गरेका थिए । कलन्दर्सविरुद्ध पारसले पाचौं नम्बरमा ब्याटिङ गर्दै ३ बलमा ३ रन बनाएका थिए ।

टिम अबुधाबीमा मोइन अली, कोरी एन्डरसन, निरोशन डिक्वेला, ह्यारी गुर्नेइ लगायत खेलाडी छन् भने नर्दन वारियर्समा आन्द्रे रसेल, नुवान प्रदीप, क्रिस ग्रिन, साम विलिंग्स, डारेन सामीलजायत खेलाडी छन् ।

यसैगरी सन्दीपको टिम कर्नाटक पनि दोस्रो जित निकाल्दै आफ्नो लयलाई कायमै राख्ने दाउमा हुने छ । पहिलो खेलमा कर्नाटकले दिल्ली बुल्सलाई १९ रनले पराजित गरेको थियो । सो खेलमा सन्दीपले उत्कृष्ट पदर्शन गरेका थिए । उनले पहिलो बल विकेट चट्काएका थिए । उनले २ ओभरमा १९ रन खर्चिएका थिए ।

यता बंगाल टाइगर्सले भने पहिलो खेलमा डेकन ग्लाडियटर्ससँग ६ विकेटले पारजित भएको थियो । त्यसैले बंगाल पहिलो जितको खोजीमा हुने छ ।

सन्दीपको टिम कर्नाटकमा हासिम अमला, जोन्सन चाल्र्स, उपुल थरंगा, सफिकउल्लाहलगायत खेलाडी छन् भने रिले सस्वो, आन्द्र फ्लेचर, कोलिन इन्ग्राम, थिसारा परेरा, लइम प्लुंकेट, डेबिड वाइजलगायत खेलाडी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *