
सन्दीपको पक्षमा सर्वोच्चको फैसला, विदेश जान पाउने
सर्वोच्च अदालतले सन्दीपको पक्षमा फैसला गरेको छ । विदेश खेल्न जान लगाएको प्रतिबन्ध विरुद्ध सन्दीपले गरेको पुनरावेदनमा सर्वोच्चले सोमबार सन्दीपको पक्षमा फैसला गरेको हो।
न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको इजलासले धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेश सदर गर्दै सन्दीपलाई विदेश जान अनुमति दिएको छ।
सर्वोच्चका न्यायाधीसद्वय सपना मल्ल प्रधान र कुमार चुडालको संयुक्त इजलासले गरेको फैसलामा केही शर्त पनि उल्लेख गरिएको छ । जसअनुसार सन्दीप खेल समाप्त भएपछि बाटोको म्यादबाहेक १५ दिनभित्र अदालतमा उपस्थित भएर जानकारी गराउनुपर्ने छ ।
यस शर्तको उल्लंघन गरेको खण्डमा यो सुविधा फिर्ता लिइने जानकारी सन्दीपलाई गराउन पनि अदालतले आदेश दिएको छ ।अदालतले सन्दीपको रोक्का गरिएको राहदानी फुकुवा गर्न पनि सर्वोच्चले आदेश दिएको छ।
अदालतको यो निर्णयसँगै सन्दीप युएईमा जारी आईसिसी विश्वकप लिग–२० अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्न बाटो खुलेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपलाई टिममा बोलाए उनी युएई जान सक्छन्।