क्रिकेटराष्ट्रिय क्रिकेट

दक्षिण अफ्रिका जाने तयारीमा सन्दीप

क्रिकेटर सन्दीप लामिछाने नेपाली नेपाली राष्ट्रिय टिमसँग अभ्यासमा जोइन हुन दक्षिण अफ्रिका जाने तयारीमा छन्।

नेपाली टिम विश्वकपको छनोटको तयारीका लागि केही दिनअघि दक्षिण अफ्रिका पुगिसकेको छ। तर, मुद्दा फैसलामा ढिलाई हुँदा सन्दीप टिमसै दक्षिण अफ्रिका गएका थिएनन्।

सन्दीपविरुद्ध लागेको मुद्दाको सुनुवाई जिम्मबाबेमा हुने एकदिवसीय विश्वकप छनोटपछिसम्म स्थगित गरेर सन्दीपलाई दक्षिण अफ्रिका पठाउने तयारी उनका कानुन व्यवसायीहरुको छ।

निरन्तर मुद्दाको सुनुवाइ प्रक्रिया ढिला भएकाले सुनुवाइ कुर्दा राष्ट्रिय टिममा सन्दीपको अभाव हुने र समग्र राष्ट्रको नै विश्वकप खेल्ने सपनामा नै असर पर्न सक्ने भएकाले सन्दीपलाई दक्षिण अफ्रिका र जिम्बाब्वेको भ्रमणमा पठाउने तयारी गरिएको सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले बताए।

सन्दीप जिम्बाबेबाट फर्केपछि सुनुवाई गर्नेगरी अदालतलाई तारिखको व्यवस्था गर्न गर्दैै निवेदन गर्ने तयारीमा आफूहरु रहेको घिमिरेले बताए।

सन्दीपसँग मागेको क्षतिपूर्तिको विषय जिल्ला अदालतले इन्कार गरेको तर सर्वोच्च अदालतको आदेशअनुसार पीडितहरुले क्षतिपूर्तिको माग गरेकाले अदालतले पीडितसँग आवश्यक कागजात माग गरेको थियो।

अब पीडितले क्षतिपूर्तिको प्रक्रिया पूरा गरेपछि मात्र अन्तिम सनुवाइ हुने जिल्ला अदालतको आदेशअनुसार पीडितले चाँडो प्रतिवेदन नबुझाउँदा अन्तिम सुनुवाइको सम्भावना तत्काल नदेखिएको भन्दै सन्दीपलाई राष्ट्रिय टिमको अभ्यासका लागि पठाउन लागिएको हो।

मुद्दाको किनारा पनि नलाग्ने र सन्दीपलाई खेल्न पनि नदिने उद्देश्यप्रेरित देखिएकाले हामीले सन्दीपलाई पठाउन दक्षिण अफ्रिका पठाउन लागेको उनले बताए। अदालतको निवेदनपछि सन्दीप कहिले दक्षिण अफ्रिका र जिम्बाब्वे भ्रमणमा निस्कने भन्ने तय हुने उनले बताए।

दक्षिण अफ्रिकामा नेपालले नेदरल्यान्ड्स र स्कटल्यान्डसँग २ अभ्यास खेल खेल्ने छ। त्यसपछि नेपाली टिम उतैबाट विश्वकप छनोट खेल्न जिम्बाबे जानेछ।