
काठमाडौं ओर्लिएपछि सन्दीपले भने– देशभन्दा ठूलो केही छैन, सबै एकजुट भएर खेल्छौं
नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त कप्तान सन्दीप लामिछाने बिग बास लिग खेलेर स्वदेश फर्किएका छन् । आसन्न टि–२० विश्वकपको ग्लोबल छनोटका लागि क्लोज क्याम्पमा सहभागी हुन सन्दीप बिग बासको प्ले अफ नखेली शुक्रबार राति नेपाल फर्किएका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै सन्दीपले राष्ट्रिय टोलीका लागि सबैले एकजुट भएर खेल्ने प्रतिबद्धता व्यक्त गरे। उनले राष्ट्रिय टोली सधैं आफ्नो प्राथमिकता रहेकाले नै अष्ट्रेलियामा प्लेअफका खेल छोडेर नेपाल आएको पनि बताए ।
सन्दीपले क्रिकेट टोली एक परिवार रहेको र सधैं देशको लागि खेल्ने बताए । सन्दीपले भने, ‘देशभन्दा ठूलो अरू केही हुँदैन, केही दिन क्वारिन्टन बस्नुपर्छ, टिमसँग घुलमिल हुनका लागि समय लाग्ने भएकाले पनि छिटो आएको हुँ।’
पबुदु दशानायकेको प्रशिक्षणमा फेरि खेल्न पाउँदा उत्साहित र खुसी लागेको पनि बताए । सन्दीपले आफ्ना लागि यो अवसर भएको बताउँदै पुबुदुको आगमनपछि योजनाहरूमा थप खुलेर कुरा गर्न सकिने बताए।
सन्दीपले यस सिजन १४ खेलमा कुल १४ विकेट लिएका थिए । जसमा उत्कृष्ट प्रदर्शन ३–३२ थियो । होबार्ट एलिमिनेटर खेलमा शुक्रबार एडिलेड स्ट्राइकर्ससँग पराजित भइसकेको छ ।
अर्को महिना ओमानमा हुने ग्लोबल छनोटका लागि क्यानले २ दिनअघि मात्र १६ सदस्यीय टिम घोषणा गरिसकेको छ। विश्वकप छनोट खेल्ने नेपाली टिममा नयाँ पुराना खेलाडीको समीश्रण छ । टिममा सन्दीपसहित शरद भेषावकर, ज्ञानेन्द्र मल्ल, करण केसी, प्रदीप ऐरीलगायत अनुभवी खेलाडी छन् भने विवेक यादव, लोकेश बम, आसिफ सेख, साहब आलमलगायत युवा खेलाडी पनि छन्।
नेपालले विश्वकपको ग्लोबल छनोटअघि ओमानमै चारदेशीय टि–२० सिरिज पनि खेल्ने छ। जसमा ओमान, आयरल्यान्ड र युएई छन्।