सन्दीपले उत्कृष्ट बलिङ, १३१ रनको लक्ष्य पछ्याएको मेलबर्न जित नजिक

नेपाली युवा लेगस्पिर सन्दीप लामिछानेले बिग ब्यास लिगको तेस्रो खेलमा आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएका छन् । सन्दीपको उत्कृष्ट प्रदर्शनको मद्दतमा मेलबर्न स्टार्सले अहिले जारी सिड्नी सिक्सर्सविरुद्धको खेलमा १ सय ३१ रनको सामान्य लक्ष्य पाएको छ ।

बिग ब्यासका अघिल्ला दुई खेलमा ५ विकेट लिँदै आफूलाई बिग ब्यासमा खरो उतारेका सन्दीपले सिड्नी सिक्सर्सविरुद्ध पनि सोही प्रदर्शनलाई निरन्तारता दिए । उनले सिड्नीविरद्ध पनि २ विकेट लिए ।

यसैबीच १ सय ३१ रनको सामान्य लक्ष्य पछ्याएको मेलबर्नले उत्कृष्ट ब्याटिङ गरेको छ । उसले ९ ओभरको समाप्तिमा १ विकेट गुमाउँदै ९१ रन बनाएको छ । अघिल्ला दुई खेलमा कमजोर ब्याटिङकै कारण पराजित भएको मेलबर्नले सिड्नी विरुद्ध भने उत्कृष्ट ब्याटिङ गर्दै ठूलो अन्तरको जित तर्फ अग्रसर भएको छ ।

सिड्नीलाई सामान्य योगफलमा रोक्ने क्रममा सन्दीपले निकै कसिलो बलिङ गरे । सन्दीपले निर्धारित ४ ओभरमा १८ रन मात्र खर्चिएर २ विकेट आफ्नो नाममा लेखाए । यो सँगै सन्दीप प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडी पनि बनेका छन् । उनले तीन खेलमा ७ विकेट लिएका छन् । यस्तै दोस्रो स्थानमा ६ विकेट लिएका ड्यानिअल साम्स छन् ।

आफ्नो स्पेलमा सन्दीपले अस्ट्रेलियाका राष्ट्रिय टिमका सदस्य मोसिर हेनरिक्सलाई ९ रनमा एलबिडब्लु आउट गरेका थिए भने इंग्ल्यान्डका राष्ट्रिय खेलाडी टम कुरानलाई २ रनमा एलबिडब्लुको शिकार बनाए ।

सिड्नीलाई सस्तैमा रोक्ने क्रममा मेलबर्नका लागि सन्दीपसँगै ज्याक्सन कोलेमन र ड्वायन ब्राभोले पनि उत्कृष्ट बलिङ गरे । कोलेमनले ३ तथा ब्राभोले २ विकेट लिए । यस्तै एडम जम्पा र कप्तान ग्लेन म्याक्सवेलले १–१ विकेट लिए ।

टस जितेर मेलबर्नले फिल्डिङ रोजेपछि ब्याटिङका लागि आएको सिड्नी सिक्सर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३० रन मात्र बनाउन सक्यो । उसका लागि जोर्डन सिल्कले सर्वाधिक ४१ रन बनाए भने सिअन एबोटले २२, ड्यानिअल हुगेसले २० र जोए डिन्लेले १४ रन बनाउनु बाहेक अन्यले गतिलो योगदान दिन सकेनन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *