सन्दीपको ‘द हन्ड्रेड’ सहभागिता अन्योलमा

सन्दीप लामिछानेले ‘द हन्ड्रेड’को सुरुवाती खेल गुमाउने भएका छन्। भिसा पाउन समस्या हुँदा उनी खेल गुमाउन वाध्य भएका हुन्।

६० हजार पाउन्ड स्टर्लिङ अर्थात् ९८ लाख नेपाली रुपैयाँभन्दा बढीमा ओभल इन्भिन्सिबल्समा आबद्ध भएका नेपालका स्टार लेगस्पिनर सन्दीपको द हन्ड्रेड सहभागिता अन्यौलमा परेको हो। भिसाका कारण सन्दीपले खेल गुमाएको यो पहिलोपटक भने होइन।

यसअघि उनी भाइटालिटी ब्लास्ट टि–२०मा सहभागी हुन वर्सेस्टरसायरमा अनुबन्ध भएका थिए। तर, समयमा भिसा नपाउँदा उनले सो प्रतियोगितामा सहभागि हुन पाएका थिएनन्। द हन्ड्रेडका लागि उनले ढिलै भएपनि भिसा भने पाएका छन्।

हाल उनी द हन्ड्रेडमा सहभागी हुनका लागि लण्डनमा छन्। कोरोनाभाइरस महामारीका कारण बेलायतको नियमानुसार उनी त्यहाँको सरकारबाट मान्यताप्राप्त होटलमा अनिवार्य क्वारेन्टिनमा बसिरहेका छन्। बेलायतमा १० दिन अनिवार्य क्वारेन्टिनको नियम छ, आज मंगलबार सन्दीप क्वारेन्टिमा बसेको १० दिन पुगेको छ। तर पनि उनले अहिलेसम्म द हन्ड्रेडमा सहभागी हुने अनुमति पाएका छैनन्।

‘अहिले केही निश्चित भइसकेको छैन। हामीले सुने अनुसार उनी (सन्दीप) आज आउन मिल्छ, हामी त्यसको कामना पनि गरिरहेका छौं। हाल विश्वभर नै यस्तै अप्ठ्यारो परिस्थिति छ, अरु खेलाडीहरुलाई पनि त्यस्तै गाह्रो परेको थियो,’ सन्दीपको टिमका कप्तान साम बिलिङ्ग्सले क्रिकइन्फो डटकमसँग भने, ‘सन्दीप निकै प्रतिभाशाली खेलाडी हुन्, आशा छ उनले खेल्ने अनुमति पाउनेछन्। यदि पाएनन् भने हामीले फेरि नयाँ रणनीति बनाउनुपर्ने हुन्छ।’

द हन्ड्रेडमा एउटा टिमले ३ जनामात्र विदेशी खेलाडी खेलाउन पाउँछ। म्यानचेस्टर ओरिजिनल्सविरुद्धको सुरुवाती खेलमा इन्भिन्सिबल्सले दुईजना विदेशी खेलाडी कोलिन एन्ग्राम र सुनिल नराइनलाई मात्र मैदानमा मात्र उतार्ने योजना बनाएको छ। सुरुवाती खेल गुमाएपनि बाँकी खेलमा सन्दीप उपलब्ध हुने विषयमा इन्भििन्सबल्स सकारात्मक देखिन्छ।

तर, सन्दीपले प्रतियोगितमा सहभागी हुनै पाएनन् भने उनको टिमले अर्को विदेशी खेलाडी अनुबन्ध गर्नेछ। हाल इन्भिन्सिबल्सले सन्दीपको विकल्पका रुपमा दक्षिण अफ्रिकाका तब्रिज साम्सीलाई अनुबन्ध गर्ने सोचमा छ। साम्सी आईसीसीको टि२० बलिङ वरियताका नम्बर १ खेलाडी हुन्।

Facebook Comments Box