सिपिएलमा सन्दीप : चार सिजन फरक चार टिममा, यो पटक ट्रिनबागो नाइट राइडर्समा

नेपाली युवा लेगस्पिनर सन्दीप लामिछानेले लागातार चौथो सिजन क्यारेबियन प्रियिमर लिग (सिपिएल) खेल्ने भएका छन् । यो पटक सन्दीपलाई डिफेन्डिङ च्याम्पियन ट्रिनबागो नाइट राइडर्सले अनुबन्धन गरेको छ।

केही दिन अघिमात्र सन्दीपलाई जमैका तलावासले रिलिज गरेको थियो। सन्दीपलाई नाइट राइडर्सले अनुबन्धन गरेससँगै उनले सिपिएलका चार सिजन फरक चार टिमबाट खेल्ने भएका छन् । उनको अनबुन्धन रकम भने खुलाइएको छैन ।

सन् २०१८मा पहिलो पटक सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सबाट खेल्दै सिपिएलमा डेब्यू गरेका थिए । अर्को सिजन उनलाई बार्बाडोस ट्राइडेन्सले किनेको थियो । अघिल्लो सिजन उनी जमैकामा आबद्ध भएका थिए ।

प्याट्रिओट्सबाट पहिलो सिजन उनले ५ खेलमा ७ विकेट लिएका थिए भने दोस्रो सिजन बार्बाडोसबाट आधा खेल मात्र खेल्न पाएका उनले ६ खेलमा ८ विकेट लिएका थिए। यस्तै अघिल्लो सिजन जमैकाबाट उनले ११ खेलमा १२ विकेट लिएका थिए।

ट्रिनबागो नाइटराइडर्सको कप्तानी केइरन पोलार्डले गर्ने छन् । टिममा उनीसँगै सुनिल नारिन, लिन्डेल सिमोन्स, कोलिन मुन्रो, ड्वायन ब्राभो, खारी पिर्रे, सिकन्दर राजा, अली खान लगायत खेलाडी छन् ।

प्रतियोगिता २८ गतेदेखि १९ सेप्टेम्बरसम्म सेन्ट किट्स एण्ड नेविसस्थित वार्नर पार्क रंगशालामा आयोजना हुने छ।

Facebook Comments Box